
काठमाडौं । देशका विभिन्न भागमा आज (आइतबार) मौसम पूर्ण रूपमा खुल्ने अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय र पूर्वीय वायुको प्रभावका कारण विशेषगरी कोशी प्रदेशसहित देशका विभिन्न स्थानका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ ।
मधेश प्रदेशमा आंशिक बदली देखिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रको मौसम तुलनात्मक रूपमा सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले दिउँसो कोशी प्रदेश तथा देशका हिमाली भू–भागमा सामान्यतया बदली रहने जनाएको छ । अन्य पहाडी क्षेत्र तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने सम्भावना छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ ।
आइतबार कोशी प्रदेशका केही स्थान तथा देशका पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भाग तथा देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ । अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ ।
राति कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहनेछ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाले वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु र किसानलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै आवश्यक गतिविधि गर्न सुझाव दिइएको छ ।



















