सहमतिको ७ बुँदे ‘एकता प्रस्ताव’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०९:०२

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र असन्तुष्टि अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन उपसभापति विश्वप्रकाश शर्माले अघि सारेका ७ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक भएको छ । उपसभापति शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको ७ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक भएको हो ।

‘सबैसँगै बढौँ यसरी’ शीर्षकमा तयार पारिएको उक्त प्रस्ताव उपसभापति शर्माले गत जेठ १६ गते आन्तरिक रूपमा इतर पक्षलाई पठाएका थिए । प्रस्ताव पठाइएको १६ दिनसम्म पनि असन्तुष्ट पक्षबाट कुनै प्रतिक्रिया नआएपछि यसलाई अहिले सार्वजनिक गरिएको हो ।

Advertisement

विशेष महाधिवेशनपछिको उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै १५ औँ महाधिवेशनको तयारीमा जुट्न शर्माले उक्त प्रस्तावमा जोड दिएका छन् ।

प्रस्तावको पहिलो बुँदामा पार्टी विधानको दफा १७९२० बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक तथा सर्वोच्च अदालतबाट भएको अन्तिम निर्णयलाई आत्मसात् गर्दै सबै विवादलाई बिर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ। साथै विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति असहमति भए त्यसलाई १५ औँ महाधिवेशनको बन्द सत्रमा मौखिक वा लिखित रूपमा राजनीतिक एजेन्डाका रूपमा उठाउन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यसैगरी विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यप्रति विभेदपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता पनि प्रस्तावमा समावेश गरिएको छ।

दोस्रो बुँदामा १५ औँ महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता अद्यावधिकको काम निर्धारित समयभित्र सम्पन्न गर्ने तथा यससम्बन्धी विधानमा रहेका अस्पष्टतालाई स्पष्ट पारेर अघि बढ्ने उल्लेख छ।
तेस्रो बुँदामा लामो समयदेखि पार्टीमा योगदान दिएका अग्रज नेताहरूलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’ का रूपमा सम्मानजनक भूमिका प्रदान गर्ने प्रस्ताव गरिएको छ।

चौथो बुँदाअनुसार विगतमा केन्द्रीय समितिमा रहेका वा नरहेका, जिम्मेवारी निर्वाह गर्न इच्छुक व्यक्तिहरूलाई सम्मानजनक रूपमा केन्द्रीय समितिमा समावेश गर्ने तथा कार्यसम्पादन समितिमा पनि उचित सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ। साथै, महाधिवेशनमा स्वतः प्रतिनिधि हुने पुरानो परम्पराको अन्त्य गर्दै केन्द्रीय समितिका सबै सदस्यले वडा तहबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखिएको छ।

पाँचौँ बुँदामा १५ औँ महाधिवेशन सञ्चालन गर्ने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्यको प्रस्ताव गरिएको छ।

छैटौँ बुँदामा केन्द्रीय समितिको अंगका रूपमा १५ औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरिएको छ भने सातौँ बुँदामा भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा काम गर्न इच्छुक नेताहरूलाई सभापति, पदाधिकारी वा उनीहरूको योग्यता र इच्छाअनुसार जिम्मेवारी प्रदान गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

उपसभापति शर्माको यो प्रस्ताव विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि अन्त्य गर्दै संवाद, सहकार्य र एकताको आधार तयार गर्ने प्रयासका रूपमा थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.