
बेइजिङ । नेपाल र चीनबीच उच्चस्तरीय कूटनीतिक संवादका क्रममा दुवै देशले आपसी विश्वास, विकास साझेदारी र रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेइजिङमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार भएको द्विपक्षीय वार्तामा नेपालमा सञ्चालनमा रहेका चिनियाँ सहयोगका परियोजनालाई छिटो कार्यान्वयन गर्ने विषयमा विशेष सहमति भएको हो । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार वार्तामा पूर्वाधार विकास, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, पर्यटन, सूचना प्रविधि, डिजिटलाइजेशन, प्रविधि हस्तान्तरण, रासायनिक मल आपूर्ति, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायत विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
दुवै पक्षले विगतमा भएका सहमति र समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वार्ताका क्रममा नेपाली पक्षले ‘एक चीन नीति’प्रतिको आफ्नो अडान पुनः दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध लक्षित कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको थियो । त्यसको प्रत्युत्तरमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन दोहोर्याएको बताइएको छ ।
चीनले नेपाल सरकारले अघि सारेका सुशासन, आर्थिक सुधार र विकासका प्राथमिकतामा पूर्ण सहयोग रहने आश्वासन पनि दिएको छ । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हितका विषयमा सहकार्यलाई थप विस्तार गर्ने समझदारी भएको जनाइएको छ ।
द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ यीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । त्यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाईसिङसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र पार्टी–पार्टीबीचको आदानप्रदानलाई विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको समेत अवलोकन गरेका थिए । त्यहाँ उनलाई संस्थानका अनुसन्धान गतिविधि तथा त्रिभुवन विश्वविद्यालयसहित नेपाली शैक्षिक संस्थासँग भइरहेको सहकार्यका बारेमा जानकारी गराइएको थियो । मन्त्री खनालले विज्ञान र प्रविधिका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।



















