सांकेतिक तस्बीरधनकुटा । धनकुटाको धनकुटा नगरपालिका–४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा मंगलबार एकाबिहानै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ७ः३० बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकलका चालक ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो ।
उपचारका क्रममा ९ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । सुनसरीको रामधुनी नगरपालिका–९ झुम्का स्थायी घर भएका चौधरी हाल धनकुटा–७ सब्जीलाइनमा बसोबास गर्दै आएका थिए ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक धनकुटा–१ हिलेका करिब ३२ वर्षीय श्याम तामाङ पनि घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























