
विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित पुरानो प्रदेशसभा सचिवालय परिसरमा रहेको पिपलको रुख ढलेको छ । स्थानीयका मंगलबार दिउँसो १ बजेतिर रुख लडेको हो ।

मानवीय एवं सवारीसाधनको चहलपहल धेरै भएका बेला पुरानो पिपलको रुख अचानक लडेको भए पनि कुनै क्षति भने हुन पाएन । प्रदेशसभा परिसरमा रहेको रुख उत्तरतिर लडेपछि विराटनगरको अस्पताल चोक–देवकोटा चोक सडक खण्ड करिब १ घण्टाजति अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भयो । रुख ढलेर अवरुद्ध भएको सडक नेपाल, ट्राफिक र महानगर प्रहरीको संयुक्त टोलीले खुलाएको छ । महानगर प्रहरीका इन्स्पेक्टर राजन पौडेलका अनुसार ढलेको रुख मेसिनको सहायताले काटेर पन्छाइएको हो ।
रुख पन्छाएपछि सडक पूर्णरूपले सुचारु भइसकेको जानकारी उनले दिए । पौडेलका अनुसार पुरानो भएर मक्किएका कारण रुख ढलेको हो । ‘रुख ढलेका बेला मानवीय चहलपहल धेरै थियो । सवारीसाधनको पनि भिडभाड रहेछ । धन्न कुनै क्षति हुन पाएन,’ उनले भने ।

रुखले तारमा पनि क्षति गरेपछि प्रदेशसभा आसपासको विद्युत सेवासमेत अवरुद्ध बनेको थियो । विद्युत सुचारु गर्न नेपाल विद्युत प्राधिकरणबाट प्राविधिक टोली परिचालन गरिएको छ ।




































