
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ दी मन्थ) घोषणा गरेको छ ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमान्दारिता र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गरेको मूल्यांकनका आधारमा न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको हो । इन्स्पेक्टर न्यौपानेले मोरङमा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागुपदार्थ सेवन परीक्षण र मादक पदार्थ सेवन परीक्षण अभियानलाई प्रभावकारी बनाएका थिए ।
नियम उल्लंघन गर्ने सवारी चालक तथा सहचालकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै सीटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान सञ्चालन गरेका थिए । त्यसैगरी, सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा प्रतीक्षालय निर्माण, पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग तथा सरोकारवाला निकायसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएका छन् ।
न्यौपानेले समुदायस्तरमा निरन्तर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक बत्ती तथा वार्निङ सौर्य बत्ती पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उत्कृष्ट कार्यसम्पादनका आधारमा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले इन्स्पेक्टर न्यौपानेलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन् ।

























