विराटनगरमा पर्यटक प्रहरी अनुशिक्षण तालिम सञ्चालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०७:३७

विराटनगर । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण तथा सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सात दिने ‘पर्यटक प्रहरी अनुशिक्षण तालिम सञ्चालन गरेको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा मंगलबार तालिमको उद्घाटन गरेका हुन् । एसएसपी थापाले प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न नेपाल भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरणमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए ।

Advertisement

पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, आवश्यक सहजीकरण तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरूलाई आधारभूत ज्ञान, सिप र व्यावसायिक दक्षता प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनको भनाइ छ । उनले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई पूर्ण उत्साह र जिम्मेवारीका साथ सहभागिता जनाई तालिमबाट प्राप्त ज्ञान, सिप तथा अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिए ।

पर्यटकको सकारात्मक अनुभवले प्रदेश तथा देशको पर्यटन प्रवर्धनमा प्रत्यक्ष योगदान पुग्ने भएकाले सेवामुखी र जिम्मेवार प्रहरी व्यवहार आवश्यक रहेको थापाले उल्लेख गरे । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले आर्थिक वर्ष २०८३–०८४ लाई पर्यटन वर्षका रूपमा मनाउने प्रदेश सरकारको लक्ष्यअनुसार पर्यटक प्रहरीको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासका लागि तालिम सञ्चालन गरिएको जानकारी दिए ।

कोशी प्रदेशका प्रमुख पर्यटन गन्तव्यहरूमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै पर्यटकमैत्री वातावरण निर्माण गर्न यस्ता तालिम उपयोगी हुने विश्वास उनले व्यक्त गरेका छन् । तालिममा जुनियर प्रहरी अधिकृतसहित ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

सात दिनसम्म सञ्चालन हुने तालिममा पर्यटक सुरक्षा, पर्यटकसँगको व्यवहार, उद्धार तथा सहजीकरण, पर्यटन क्षेत्रको सुरक्षा व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिने छ । कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन बढ्दै गएको सन्दर्भमा पर्यटक प्रहरीको क्षमता विकास गरी सुरक्षित र व्यवस्थित पर्यटन वातावरण निर्माण गर्ने उद्देश्यसहित उक्त तालिम सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.