खडेरी र मरुभूमीकरण रोक्न विश्वव्यापी आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०७:५४

काठमाडौं । विश्व खडेरीविरुद्ध संघर्ष दिवस आज (बुधबार) नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । खडेरी, भूमि क्षयीकरण र मरुभूमीकरणको बढ्दो चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले प्रत्येक वर्ष जुन १७ मा यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष दिवसको मुख्य नारा ‘चरन क्षेत्र पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ’ तय गरिएको छ । प्राकृतिक स्रोतको संरक्षण, क्षतिग्रस्त भूमि पुनर्स्थापना तथा दिगो उपयोगलाई प्रवर्धन गर्न यस नाराले विशेष जोड दिएको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि मनाउन थालिएको दिवसले खाद्य सुरक्षा, वातावरण संरक्षण, जैविक विविधता तथा भूमि व्यवस्थापनका विषयमा विश्वव्यापी सन्देश प्रवाह गर्दै आएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित भू–उपयोग र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण उर्वर भूमि क्रमशः उत्पादनविहीन बन्दै गइरहेको छ ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा विशेषगरी मध्यपहाडी क्षेत्रमा खडेरीको समस्या गम्भीर बन्दै गएको छ । वर्षा प्रणालीमा आएको परिवर्तन, पानीका स्रोत सुक्दै जानु तथा कृषि उत्पादनमा आएको गिरावटले स्थानीयको जनजीवन प्रभावित भएको छ। कतिपय स्थानमा खडेरीकै कारण बसाइँसराइको प्रवृत्ति समेत बढ्न थालेको सरोकारवालाहरू बताउँछन् ।

वातावरणविद्हरूका अनुसार मरुभूमीकरण भनेको वर्षा नहुनु मात्र होइन, मानव गतिविधि र जलवायु परिवर्तनका कारण जमिनको उर्वराशक्ति घट्दै जानु पनि हो । यसले कृषि उत्पादन, खाद्य सुरक्षा र पारिस्थितिक प्रणालीमा दीर्घकालीन असर पार्ने भएकाले समयमै प्रभावकारी संरक्षण तथा पुनर्स्थापना कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ ।

दिवसको अवसरमा पृथ्वीलाई भावी पुस्ताका लागि सुरक्षित, हरित र बस्नयोग्य बनाउन प्राकृतिक स्रोत संरक्षणमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिने गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.