
धरान । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले अाज (बुधबार) धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक कार्यालयसहित विभिन्न शाखामा तोडफोड गरेका छन् ।
धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार बिहान साढे ७ बजे प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा मंगलबार राति साढे ८ बजे उनको मृत्यु भएको थियो।
दीपिकाको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन्। आक्रोशित आफन्तले प्रतिष्ठानको निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका हुन्।
दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा कार्यरत चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले भने स्वास्थ्य प्रोटोकलअनुसार नै दीपिकाको उपचार गरिएको दाबी गरेका छन्। चिकित्सकीय लापरबाहीका कारण नभई बिरामीमा देखिएको जटिल स्वास्थ्य समस्याका कारण मृत्यु भएको उनको भनाइ छ।
उनका अनुसार उपचारका क्रममा दीपिकाको मुटुमा समस्या देखिएको थियो। त्यसपछि सिटी स्क्यान गर्नसमेत समस्या भएको थियो। घटनाबारे छानबिन समिति गठन गरेर वास्तविक अवस्था पत्ता लगाइने प्रवक्ता श्रेष्ठले बताए।
तोडफोडपछि प्रतिष्ठान परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि मृतकका आफन्त र प्रतिष्ठान प्रशासनबीच वार्ता भएको थियो। वार्तामा प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बू, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूको समेत सहभागिता थियो।
वार्ताका क्रममा मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र दीपिकाको सम्पूर्ण उपचार खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने माग राखेका छन्।
त्यस्तै, तोडफोडलगायतका घटनामा संलग्न आफन्तमाथि कारबाही नगर्नुपर्ने तथा मृतकका परिवारका सदस्यलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।
आफन्तले राखेका मागबारे प्रतिष्ठान प्रशासनका प्रमुख तथा सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ। मागका विषयमा पुनः वार्तामा बस्ने सहमतिसहित तत्कालका लागि छलफल टुंगिएको छ।
दीपिकाको मृत्युको कारण र उपचारका क्रममा चिकित्सकीय लापरबाही भए–नभएको विषयमा प्रतिष्ठानले छानबिन समिति गठन गर्ने जनाएको छ। समितिको छानबिनपछि मात्रै उपचारका क्रममा भएको वास्तविक अवस्था स्पष्ट हुने प्रतिष्ठानको भनाइ छ।

























