कोशी अस्पतालको विकास समितिले पायो पूर्णता

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १८:४७

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको विकास समितिले पूर्णता पाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समितिको अध्यक्षसहित तीन सदस्य नियुक्त गरेसँगै लामो समयदेखि अपूर्ण रहेको विकास समिति पूर्ण बनेको हो ।

मन्त्रालयले नवजात शिशुरोग विशेषज्ञ डा. सुमित घिमिरेलाई सोमबार अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै, विराटनगरकी दन्तरोग विशेषज्ञ डा. नूतन नौलखा, मोरङकी ललिता सरदार र मजहर हुसेनलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

नवनियुक्त अध्यक्ष घिमिरेले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट नियुक्तिपत्र बुझेका थिए । उनले मंगलबार अस्पताल पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले अस्पतालको सेवा प्रवाहलाई बिरामीमैत्री बनाउने र लामो समयदेखि देखिँदै आएका व्यवस्थापकीय समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन् ।

कोशी अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका र ग्रामीण तथा दूरदराज क्षेत्रका नागरिकका लागि अस्पताल उपचारको महत्वपूर्ण गन्तव्य हो । तर, सेवा लिन पुग्ने बिरामीले टिकट काट्नेदेखि उपचार, परीक्षण र शय्या व्यवस्थापनसम्म विभिन्न झन्झट लामो समयदेखि बेहोर्नु परिरहेको छ ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको समयमै उपस्थिति नहुने, उपकरणको प्रभावकारी प्रयोग हुन नसक्ने तथा अस्पतालमै उपलब्ध हुनुपर्ने सेवाका लागि बिरामीलाई बाहिर पठाउने प्रवृत्तिसहितका विषय पनि पटकपटक उठ्दै आएका छन् । नयाँ नेतृत्वले यस्ता समस्या पहिचान गरी सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

अध्यक्ष घिमिरेले अस्पताललाई परम्परागत कार्यशैलीबाट बाहिर निकाल्दै उपचार प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने बताएका छन् । उनका अनुसार अस्पतालमा हुने ढिलासुस्ती कम गर्न आकस्मिक र बहिरंग सेवामा डिजिटल प्रणालीको प्रयोग बढाउने तयारी छ ।

‘कोशी अस्पताल गरिब र विपन्न जनताको आशाको केन्द्र हो । यहाँ आउने बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण बनाउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि तत्काल गर्न सकिने कामदेखि दीर्घकालीन सुधारसम्मको कार्ययोजना बनाएर अघि बढ्नेछु ।’

अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति, उपलब्ध उपकरणको प्रयोग तथा बिरामीलाई बाहिर पठाउने अवस्थालगायत विषयको अध्ययन गरेर सुधारको योजना बनाउने पनि उनले बताए । अस्पतालको सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने डा. घिमिरेको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनले चिकित्सकीय सेवासँगै अस्पताल व्यवस्थापनमा देखिएका समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् । यसअघि कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा. फरवर्ड सिलवाल थिए । अनेक विवादमा मुछिएका उनको कार्यकाल समाप्त भएपछि मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

विकास समितिमा अध्यक्षसहित नयाँ सदस्य नियुक्त भएसँगै अस्पतालको व्यवस्थापनमा नयाँ नेतृत्व आएको छ । नयाँ समितिमार्फत अस्पतालको सेवा प्रवाहलाई थप चुस्त, गुणस्तरीय र प्रभावकारी बनाउँदै संस्थागत सुधारलाई गति दिने अपेक्षा गरिएको छ ।

तर, कोशी अस्पतालमा व्यवस्थापकीय समस्या नयाँ भने होइनन् । विगतमा पनि नेतृत्व परिवर्तनसँगै अस्पताल सुधारका प्रतिबद्धता सार्वजनिक हुँदै आएका थिए । यद्यपि, प्रतिबद्धता कार्यान्वयनमा राजनीतिक तथा प्रशासनिक प्रभाव, आन्तरिक समन्वयको अभाव र व्यवस्थापनसम्बन्धी जटिलताले चुनौती सिर्जना गर्दै आएको विगत छ ।

नयाँ विकास समितिका लागि अब अस्पतालको दैनिक सेवा सुधारसँगै उपकरणको पूर्ण उपयोग, जनशक्तिको नियमित उपस्थिति, बिरामीको सहज पहुँच, आकस्मिक तथा बहिरंग सेवाको व्यवस्थापन र अस्पतालमै उपलब्ध हुने उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नु मुख्य चुनौती रहेको एक कर्मचारीले बताए । उनका अनुसार नयाँ समितिले प्रतिबद्धतालाई व्यवहारमा कति उतार्न सक्छ भन्ने कुराले कोशी अस्पतालको आगामी सुधारको दिशा निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×