
काठमाडौं । विश्वकप फुटबलमा क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्ड विजयी सुरुवात गरेकाे छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको हाे ।
इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए ।
क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन् ।
केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।
दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्याएका छन् । इंग्ल्याण्डका लागि उनले जम्मा ८१ गोल गरेका छन् ।
क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए ।
दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।



















