
मेक्सिको । फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ । समूह ‘के’ अन्तर्गत मेक्सिकोस्थित ऐतिहासिक अज्टेका स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले विश्वकपमा पहिलो पटक सहभागी भएको उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले एक–एक गोल गरे । उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले सान्त्वना गोल फर्काए ।
खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनायो । लुइस डियाजको पासमा डानिएल मुनोजले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए । पहिलो हाफमा त्यही गोल निर्णायक बनेको थियो ।
दोस्रो हाफमा उज्बेकिस्तानले खेलमा फर्कने प्रयासलाई सफल बनाउँदै ६०औँ मिनेटमा बराबरी गोल गर्यो । अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए । यो गोलसँगै उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।
तर, उज्बेकिस्तानको खुशी लामो समय टिक्न सकेन । बराबरी गोल गरेको पाँच मिनेटपछि नै कोलम्बियाले पुनः अग्रता लियो । ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै टोलीलाई २–१ ले अघि बढाए ।
त्यसपछि खेलको बाँकी समयमा उज्बेकिस्तानले पुनः बराबरीको प्रयास गरे पनि सफल हुन सकेन । बरु इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले अर्को गोल थपेपछि कोलम्बियाले ३–१ को सहज जित सुनिश्चित गर्यो ।
जितसँगै कोलम्बियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थान कब्जा गरेको छ । यही समूहको अर्को खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । त्यसका कारण पहिलो खेलपछि कोलम्बिया समूहको एक्लो अग्रस्थानमा पुगेको छ ।

























