
एजेन्सी । अमेरिका र इरानबीच जारी तनाव तथा क्षेत्रीय द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित १४ बुँदे सहमति भएको छ । फ्रान्सको भर्साइल्स दरबारमा आयोजित विशेष समारोहका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियानले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पहलमा आयोजित रात्रिभोजपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न भएको बताएका छन् । इरानी सरकारी सञ्चारमाध्यमहरूले राष्ट्रपति पेजेस्कियानले सहमति पत्रमा हस्ताक्षर गरेको तस्बिरहरू सार्वजनिक गरेका छन् ।
सहमतिअनुसार अमेरिकाले इरानमाथि लामो समयदेखि लागू गर्दै आएको आर्थिक प्रतिबन्धमा आंशिक छुट दिनेछ । यस व्यवस्थापछि इरानले अन्तर्राष्ट्रिय बजारमा आफ्नो तेल निर्यात पुनः विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ । विश्व व्यापार तथा ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषय पनि सहमतिमा समेटिएको बताइएको छ ।
दुवै पक्षबीच भएको समझदारीमा इरानले भविष्यमा परमाणु हतियार निर्माण वा प्राप्त गर्ने प्रयास नगर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ। त्यसको बदलामा अमेरिका तथा उसका क्षेत्रीय साझेदारहरूले इरानको आर्थिक पुनःस्थापना र पूर्वाधार विकासका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण कोष स्थापना गर्ने सहमति जनाएका छन् । उक्त कोष सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना आगामी चरणको वार्तामार्फत तय गरिने जनाइएको छ ।
सम्झौतामा मध्यपूर्वका विभिन्न क्षेत्रमा जारी सशस्त्र द्वन्द्व अन्त्य गर्न आवश्यक राजनीतिक र कूटनीतिक पहललाई अघि बढाउने विषय पनि समावेश गरिएको छ । विशेषगरी लेबनानलगायतमा जारी हिंसात्मक गतिविधि रोक्न तथा स्थायी शान्तिको वातावरण निर्माण गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ ।
हालका दिनहरूमा इजरायलद्वारा निरन्तर हवाई आक्रमण भइरहेका क्षेत्रहरूमा तनाव कम गर्ने तथा संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता पनि सहमतिपत्रमा समेटिएको छ । यसलाई मध्यपूर्वमा शान्ति स्थापना गर्ने दिशातर्फको महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।



















