मध्यरातमा मन्त्री निवासमा किन पुग्याे प्रहरी ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १४:३५

विराटनगर । प्रहरीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा बिहीबार मध्यरातमा छापा मारेको छ । विराटनगरमा रहेको मन्त्रीको निवास बिहीबार राति प्रहरीले पुगेको हो ।

प्रहरी पुग्दा मन्त्री निवासमा थिएनन् । मन्त्रीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरी भित्र छिरेको थियो ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त स्थल पुगेको थियो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको उनले दाबी गरे ।

‘एकजना अभियुक्त सोही घरमा लुकिछिपी बसेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो,’ सीडीओ कटेलले भने,‘ अपरेसनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको निवास भएको बारे पूर्वजानकारी थिएन ।’

उनले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको दोहोर्‍याए । ‘प्रहरी टोली अभियुक्तकै पिछा गर्दै त्यहाँ पुगेको हो,’ उनले भने,‘पहिले उनी त्यहाँ बस्ने गरेको सूचना थियो, प्रहरी पुग्नुअघि नै उनी ठाउँ सरिसकेका रहेछन् ।’

मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामै उठेको छ। शुक्रबारको बैठकमा धनकुटाका सासद राजेन्द्र राइले यो कुरा उठाएका हुन् । ‘उहाँ संखुवासभा जानुभएको रहेछ। उहाँ एक्लै भएको बेला प्रहरीले घर खानतलासी गर्ने काम नयाँ सरकारबाट किन हुँदैछ,’ उनले भने,’किन त्यस्तो भयो? कसरी भयो, के भयो ?’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.