फाइल फाेटाेविराटनगर । झापाको कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्। सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर ठक्किएर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हाे ।
दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन् । उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

























