
चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या ४ हजार २ सय नाघ्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार महाधिवेशनमा चार हजार २ सय १० प्रतिनिधि रहने अनुमान गरिएको छ ।
संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्मको प्रारम्भिक सूचीमा ३ हजार ८ सय १० प्रतिनिधि समावेश भएका छन् । विदेशस्थित २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २ सय प्रतिनिधि थपिने भएपछि प्रतिनिधिको संख्या ४ हजारभन्दा माथि पुग्ने भएको हो ।
पार्टी विधानअनुसार सभापतिले २ सय जना प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था छ । यसबाहेक समूहगत रूपमा पार्टीमा प्रवेश गरेका सदस्यहरूबाट पनि केही प्रतिनिधि थपिन सक्ने जनाइएको छ । प्रारम्भिक सूचीमाथि दाबी–विरोध, दोहोरो नाम तथा छुटेका व्यक्तिको विवरण समेटेर अन्तिम नामावली सार्वजनिक गरिने तयारी गरिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकले सभापतिबाट मनोनयन हुने प्रतिनिधिको नाम अनुमोदन गरेपछि अन्तिम सूची सार्वजनिक गरिने सचिवालयले जनाएको छ । प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा धेरै ७९० प्रतिनिधि रहनेछन् । मधेशबाट ६३०, सुदूरपश्चिमबाट ५५०, कोशीबाट ५२०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७० तथा कर्णालीबाट ३६० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने प्रारम्भिक विवरणमा उल्लेख छ ।
महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका पदाधिकारी तथा सदस्यहरू, विभाग, अनुशासन आयोग, सल्लाहकार परिषद्, केन्द्रीय समितिका सदस्य, विभिन्न आयोगका पदाधिकारी तथा सदस्यहरू समावेश हुनेछन् । त्यस्तै, स्थानीय तहका आधारमा गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उपविजेता बनेका उम्मेदवार, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय व्यक्तिहरूलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ ।
रास्वपाको महाधिवेशन उद्घाटन सत्र आइतबार भरतपुरमा आयोजना हुनेछ । बन्दसत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ । महाधिवेशनका लागि सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आइतबार चितवन पुग्ने कार्यक्रम छ ।



















