घेराबन्दीमा देउवा दम्पती

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १६:५७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पछिल्ला घटनाक्रमपछि राजनीतिक रूपमा कमजोर हुँदै गएका छन् ।

एक समय देशको सत्ता राजनीतिमा निर्णायक भूमिका खेल्ने देउवा अहिले पार्टीभित्र र बाहिर दुवै मोर्चामा निरन्तर दबाब र घेराबन्दीमा परेका देखिन्छन् । उपचारका लागि विदेशमा रहेका देउवा कहिले स्वदेश फर्किने भन्ने समेत अनिश्चित बनेको छ ।

Advertisement

२०८१ असार १७ गते नेकपा (एमाले)सँग गरिएको सात बुँदे सत्ता सहमतिपछि सुरु भएको घटनाक्रमले देउवाको राजनीतिक प्रभाव क्रमशः घट्न थालेको विश्लेषण गरिन्छ । उक्त सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी विवादास्पद निर्णयले देशभर असन्तोष चुलिएको थियो । २०८२ भदौ १९ गते सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लागू गरेपछि त्यसको प्रत्यक्ष असर सडक आन्दोलनमा देखियो । जसले अन्ततः जेनजी आन्दोलन जन्मायो ।

आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयदेखि निजी संरचनासम्म आक्रमण र आगजनी हुँदा राजनीतिक अस्थिरता चरममा पुगेको थियो । सोही दिन देउवाको निजी निवासमा समेत आक्रमण भएपछि उनी सेनाको सहयोगमा ज्यान जोगाएर बाहिरिन बाध्य भएका थिए ।

त्यसपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको थियो । विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्र गुटगत विवाद चर्कियो । ५४ प्रतिशत महासमिति सदस्यको हस्ताक्षरपछि नेतृत्व परिवर्तनको दबाब बढ्दै जाँदा अन्ततः गगन थापा विशेष महाधिवेशनमार्फत पार्टी सभापति बने । निर्वाचन आयोगले उक्त नेतृत्वलाई आधिकारिकता दिएपछि देउवाको संस्थागत प्रभाव थप कमजोर बन्यो ।

त्यसबीच, देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र ई–पासपोर्ट खरिदमा भएको भनिएको अर्बौंको अनियमितताको आरोपले कानुनी घेरासमेत कडा बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री एवं देउवा पत्नी आरजु राणा देउवालाई बयानका लागि बोलाउनुका साथै केही अधिकारीहरूलाई नियन्त्रणमा लिएको छ । जर्मन कम्पनीका प्रतिनिधिहरूसमेत अनुसन्धानको दायरामा तानिएका छन् ।

पार्टीभित्र नेतृत्वको वैधानिकता, बाहिर कानुनी छानबिन र राजनीतिक अस्थिरताको त्रिकोणीय दबाबबीच देउवा दम्पतीको प्रभाव विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको देखिन्छ । हाल पार्टी पुनर्संरचना, नेतृत्व विवाद र आगामी चुनावी तयारीका बीच कांग्रेसभित्र नयाँ शक्ति सन्तुलन बन्ने संकेत देखिँदै गर्दा देउवाको भूमिका अझ सीमित बन्दै गएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.