राप्रपाको महाधिवेशन मिति तय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १७:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन मिति तय भएको छ । पार्टीले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आफ्नो केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति टुंग्याउँदै विस्तृत कार्यतालिका समेत स्वीकृत गरेको हो । बैठकले महाधिवेशनलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन अध्यक्ष लिङ्देनको संयोजकत्वमा केन्द्रीय महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ । पार्टीका अनुसार अबको केही महिनाभित्र संगठनात्मक संरचना पूरा गर्दै महाधिवेशनलाई सफल बनाउने तयारी अघि बढाइनेछ ।

Advertisement

निर्धारित कार्यतालिका अनुसार भदौ मसान्तभित्र देशभरका जिल्ला अधिवेशन सम्पन्न गरिनेछ । त्यसपछि असोज १५ देखि २४ गतेभित्र प्रदेश अधिवेशनहरू सञ्चालन गरिने र कात्तिक ११ देखि ३० गतेसम्म महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पूरा गरिनेछ । यसरी चरणबद्ध रूपमा संगठनात्मक काम पूरा गर्दै केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गर्ने योजना पार्टीले बनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा सरकारी कार्यसम्पादनका बारेमा पनि समीक्षा गरिएको थियो । पार्टीले सरकारको प्रारम्भिक कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सुशासन, पारदर्शिता र जवाफदेहिताका क्षेत्रमा सुधारको आवश्यकता औंल्याएको छ ।

परराष्ट्र नीतिको विषयमा पनि बैठकमा चासो व्यक्त गरिएको छ । राप्रपाले स्पष्ट र दीर्घकालीन दृष्टिकोणको अभावका कारण छिमेकी मुलुकहरूसँग विश्वासको वातावरण कमजोर हुन सक्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र स्थिर बनाउन ठोस नीति आवश्यक रहेको धारणा पार्टीले अघि सारेको छ ।

आर्थिक नीतिबारे टिप्पणी गर्दै पार्टीले आर्थिक वर्ष २०८३–८४ को बजेटमा शिक्षा, स्वास्थ्य र विद्युतजस्ता आधारभूत क्षेत्रमा लगाइएका कर फिर्ता लिन माग गरेको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीमा देखिएको मूल्यवृद्धिले आम नागरिक प्रभावित भएको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा नदीकिनाराका बस्ती हटाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । राप्रपाले वैकल्पिक आवास र पुनर्स्थापनाको स्पष्ट व्यवस्था नगरी गरिएको हटाउने कार्यले वास्तविक भूमिहीनहरू थप समस्यामा परेको भन्दै तत्काल पुनर्बासको व्यवस्था गर्न माग गरेको छ ।

त्यसैगरी, निजी क्षेत्रमाथि भइरहेको कडाइ र धरपकडले लगानीको वातावरण कमजोर बनाएको निष्कर्ष निकाल्दै पार्टीले कानुनी शासनलाई बलियो बनाउन र संस्थागत नियमनलाई पारदर्शी तथा सन्तुलित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । बैठकले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्न नेता तथा कार्यकर्तालाई सक्रिय रहन आह्वान गरेको छ । एउटा निर्वाचनको परिणामले पार्टीको दीर्घकालीन भविष्य निर्धारण नगर्ने भन्दै राप्रपाले उच्च मनोबलका साथ संगठन विस्तार र जनसम्पर्कमा लाग्न निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.