
रंगेली । मोरङको रंगेली नगरपालिका–१ स्थित सखरदिना चोकमा राखिएको नेपालको राष्ट्रिय झण्डा जीर्ण अवस्थामा पुगेको छ । देशको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको प्रतीक मानिने झण्डा च्यातिएको, फोहोर र क्षतिग्रस्त अवस्थामा देखिएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
चोकमा लामो समयदेखि राखिएको उक्त झण्डामा रहेको चन्द्र र सूर्यको चिन्ह स्पष्ट रूपमा च्यातिएको देखिन्छ । कपडाको रंग समेत फिका भइसकेको छ । झण्डा वरपरको संरचना पनि उपेक्षित अवस्थामा रहेको स्थानीयले बताएका छन् । नियमित मर्मत, परिवर्तन वा संरक्षण नहुँदा राष्ट्रिय प्रतीक नै अपमानित हुने स्थिति आएको हो ।
स्थानीयका झण्डा वर्षौंदेखि त्यही अवस्थामा रहँदै आएको हो । समय–समयमा मर्मत वा प्रतिस्थापन हुनुपर्ने भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा झण्डा झनै जीर्ण बन्दै गएको छ । ‘यो हाम्रो राष्ट्रिय पहिचान हो । यसको यस्तो अवस्था हुनु दुःखद कुरा हो,’ स्थानीय रामेश्वर मण्डलले भने ।
झण्डा राखिएको स्थान सार्वजनिक चोक भएकाले दैनिक रूपमा धेरै मानिसहरूको आवतजावत हुने गर्छ । त्यसैले यस्तो अवस्थामा रहेको झण्डाले राष्ट्रिय सम्मान र प्रतीकप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीयको बुझाइ छ । उनीहरूले तत्काल झण्डा फेर्नु वा मर्मत गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
तर, यस विषयमा सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायको तर्फबाट कुनै ठोस पहल भएको देखिएको छैन । झण्डा जीर्ण अवस्थामा रहँदा पनि त्यसलाई बदल्ने वा संरक्षण गर्ने विषयमा मौनता देखिनु गलत भएको अर्का स्थानीय जीवन मण्डलको भनाइ छ ।
राष्ट्रिय झण्डा एउटा कपडा मात्र नभई देशको स्वतन्त्रता, बलिदान र पहिचानको प्रतीक भएकाले यसको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको जानकारहरू बताउँछन् । सार्वजनिक स्थानमा राखिएका यस्ता प्रतीकहरूको नियमित अनुगमन र संरक्षण स्थानीय निकायको दायित्वभित्र पर्ने उनीहरूको भनाइ छ ।
यसैबीच, स्थानीय युवाहरूले पनि झण्डाको अवस्था सुधार गर्न पहल गर्नुपर्ने आवाज उठाउन थालेका छन् । उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरेर नयाँ झण्डा राख्ने वा पुरानोलाई व्यवस्थित रूपमा परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
सखरदिना चोकमा देखिएको दृश्यले राष्ट्रिय प्रतीकप्रति जिम्मेवारी र संवेदनशीलताको अभाव देखाएको भन्दै स्थानीयले तत्काल ध्यान दिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।




















