
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषधको कारोबार र दुर्व्यसन एवं मौसमी तथा मानवसृजित विपद्का घटनामा निरन्तर वृद्धि भइरहेको भन्दै यसको न्यूनीकरणका लागि राज्य, समाज र परिवार सबै तहबाट सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा शनिबारदेखि सुरु गरिएको ‘लागुऔषधविरुद्ध झापा अभियान’को बिर्तामोडमा शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पछिल्ला वर्षहरूमा लागुऔषधको समस्या र विपद्का घटनाहरूको ग्राफ निरन्तर बढ्दै जानु गम्भीर चुनौती बनेको उल्लेख गरे । उनका अनुसार समस्या नियन्त्रणमा सरकारी संयन्त्र मात्र नभएर समुदाय, अभिभावक, विद्यालय र स्थानीय तहको सक्रिय सहभागिता आवश्यक छ ।
मुख्यमन्त्री कार्कीले लागुऔषधको समस्या घरपरिवारमै प्रवेश गरिरहेकोतर्फ संकेत गर्दै प्रत्येक अभिभावकले आफ्ना छोराछोरीको गतिविधिलाई नजिकबाट बुझ्नुपर्नेमा जोड दिए । उनले भने, ‘लागुऔषध दुर्व्यसन मेरो घरमा छिर्यो कि छैन, भविष्यका पुस्ता कति सुरक्षित छन् भन्ने कुरा हरेक परिवारले गम्भीर रूपमा मनन गर्नुपर्छ । सचेतना पनि अत्यन्त आवश्यक छ ।’
नेपाल–भारत खुला सीमाका कारण लागुऔषध ओसारपसार र दुरुपयोगको जोखिम उच्च रहेको उल्लेख गर्दै कार्कीले तराईका जिल्लाबाट सुरु भएको दुर्व्यसनको प्रभाव अहिले पहाड र हिमाली क्षेत्रसम्म फैलिन थालेकाले अवस्था चिन्ताजनक रहेको बताए । सीमा व्यवस्थापन प्रभावकारी नहुँदा समस्या अझ जटिल बन्दै गएको उनको भनाइ थियो ।
विपद्को विषयमा बोल्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक तथा मानवसृजित दुवै प्रकारका विपद् बढ्दै गएको उल्लेख गरे । विशेषगरी मानवसृजित विपद् रोकथाम गर्न सकिने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिँदा क्षति बढिरहेको उनले बताए । प्राकृतिक विपद्को सन्दर्भमा भने पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनमा सबै तहको सहकार्य आवश्यक रहेको कार्कीको भनाइ छ ।
उनले भने, ‘लागुऔषध नियन्त्रण र विपद् व्यवस्थापनका लागि आवश्यक बजेट र स्रोत नेपालकै आन्तरिक क्षमताले मात्र पर्याप्त नहुन सक्छ । जसका कारण भविष्यमा वैदेशिक सहायता लिनुपर्ने अवस्था समेत आउन सक्ने जोखिम छ । त्यसैले समस्या भइसकेपछि समाधान खोज्ने भन्दा पनि पहिले नै रोकथाममा ध्यान दिनुपर्ने हुन्छ ।’
कार्यक्रममा मुख्यमन्त्री कार्कीले झापा, मोरङ र सुनसरीमा लागुऔषधको समस्या उच्च रहेको तथ्यलाई स्वीकार गर्दै यसलाई नियन्त्रण गर्न प्रदेशस्तरीय साझा योजना आवश्यक रहेको बताए । प्रहरी, प्रशासन र स्थानीय तहबीच समन्वय गरेर अभियानलाई प्रभावकारी बनाउनु पर्ने उनको सुझाव छ ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत लागुऔषध नियन्त्रण र पुनःस्थापना केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी पनि दिए । मेचीनगरको धाइजन र विराटनगरको रानीस्थित कोरोना होल्डिङ सेन्टरलाई लागुऔषध दुर्व्यसन पुनःस्थापना केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रस्ताव प्रदेश सरकारको नीति तथा कार्यक्रममै समावेश गरिएको उनले स्पष्ट पारेका छन् ।
साथै, निजी क्षेत्रद्वारा सञ्चालित सुधार केन्द्रहरूको सहकार्यलाई समेत उपयोग गरेर पुनःस्थापना प्रणालीलाई प्रभावकारी बनाइने सरकारको योजना रहेको उनले बताए । स्थानीय तहहरूलाई पनि आफ्नो बजेट तथा योजनामा पुनःस्थापना केन्द्र सञ्चालनका कार्यक्रम समावेश गर्न उनले आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्कीले बालबालिका र किशोरकिशोरीलाई लक्षित गर्दै परिवार र विद्यालयको भूमिकालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले अभिभावकले आफ्ना सन्तानलाई संस्कार, जिम्मेवारी र सामाजिक मूल्यका बारेमा निरन्तर मार्गदर्शन गर्नुपर्ने उल्लेख गर्दै विद्यालयहरूले पनि नियमित निगरानी र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्याब्सन, एनप्याब्सनजस्ता संस्थाहरूले समेत यस अभियानमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
उनले पहिलो कार्यकालमा आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा सुरु गरिएको ‘म अघि बढ्छु’ कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । आगामी आर्थिक वर्षदेखि नीति तथा बजेटमा समावेश गरी प्रदेशभरका करिब २२०० विद्यालयमार्फत लाखौँ विद्यार्थीमा सचेतना फैलाउने लक्ष्य राखिएको उनले बताए । उक्त कार्यक्रमले बालबालिकालाई कुलतबाट टाढा राख्ने उद्देश्य लिएको उनको भनाइ थियो ।
झापा प्रहरीले सुरु गरेको अभियानलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा सहयोगी भूमिकामा रहने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कार्कीले सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले समाजका सबै पक्ष एकजुट नभएसम्म लागुऔषध र विपद् जस्ता चुनौती नियन्त्रण गर्न कठिन हुने बताए ।

























