
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाहलगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो, गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए । त्यसपछि कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरे । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।


























