कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०६:३६

विराटनगर । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा आज (आइतबार) भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशमा मौसम सक्रिय बनेको छ । देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरलगायत प्रदेशका विभिन्न स्थानमा बिहानका रातिदेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।

मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि यस्तै खालको वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, सडक यात्री तथा कृषकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । चट्याङको जोखिम रहेकाले खुला स्थानमा अनावश्यक रूपमा नबस्न र आवश्यक सुरक्षा उपाय अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ ।

आइतबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

रातको समयमा पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा रातको समयमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ । भारी वर्षा, चट्याङ तथा तातो लहरको प्रभाव पर्ने क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.