अटोको ठक्करबाट घाइते भएकी वृद्धाको विराटनगरमा मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०७:१०

विराटनगर । उदयपुरमा अटो टेम्पोको ठक्करबाट घाइते भएकी एक जना वृद्धा महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

दुर्घटनामा परेर घाइते भएकी उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७६ वर्षीया फूलमाया तामाङको शनिबार साँझ विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मुर्कुची बजारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ०५४८ नम्बरको अटोले पैदल यात्रा गरिरहेकी तामाङलाई शनिबार बिहान ८ः३० बजेतिर ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनालगत्तै उनलाई उद्धार गरेर उपचारका लागि सीटी अस्पताल गाईघाट लगिएको थियो । त्यहाँ सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइयो । नोबेलमा उपचारकै क्रममा साँझ ६ः१५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।

दुर्घटनालगत्तै अटो र चालक रौतामाई–७ का अन्दाजी २० वर्षीय गौरवबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । अटो चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको छ । लापरबाहीपूर्ण तरिकाले अटो ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.