
भरतपुर । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्तिकाे रुपमा उदाएकाे रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले यस्ताे बताएका हुन् । ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्,’ उनले भने,’जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ ।’
उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए । ‘१० वर्षदेखि वैकल्पिक राजनीतिक पैरवी गरेकोले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा के ललीपप देखाएको छ भन्छन्। म मर्न हिँडेको मानिस । टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ अब के ललीपप खाने यो उमेरमा ?’
उनले राजनीतिक स्थिरता १०/१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए । ‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने ।

























