
झापा । झापामा सर्पले डसेर एक जना वृद्धा महिलाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–४ बाइसे टोलकी अन्दाजी ८८ वर्षीया पञ्चमाया शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पञ्चमायालाई कुखुराको खोर लगाउने क्रममा आइतबार साँझ विषालु सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुखुराको खोर लगाउने क्रममा खोरको छेउमा रहेको इँटाको चाङबाट निस्किएको सर्पले उनको दाहिने हातको माझी औंलामा टोकेको थियो ।
उनलाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने यकिन भइसकेको छैन । सर्पले डसेपछि गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १०ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव बी एन्ड सी अस्पतालमै छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गर्मीका बेला विषालु सर्पको बिगबिगी हुने भन्दै सुरक्षित रहन सबैमा अनुरोध गरेको छ ।

























