
विराटनगर । हुलाकी राजमार्गको मोरङको कटहरी खण्डको एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन् । हुलाकी सडकको हाटखोला–कटहरी खण्डमा तीनवटा ट्रक फस्दा सवारी आवागमन प्रभावित बनेको छ ।
ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको सडकमा गाडी फसेको पहिलोपटक भने होइन । बर्खा लागेपछि हरेकदिन मालबाहक ट्रक फसिरहेका छन् । सोमबार भने तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको हो । ट्राफिक प्रहरीले अन्य सवारीसाधनलाई रोकिरहेका छन् ।
वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा लोडेड ट्रकहरू फसेर आवतजावतमा समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलले बताए । ‘बर्खाको समय र कच्ची बाटो भएकाले धेरै लोड बोकेका गाडीहरू फसेका छन्,’ उनले भने, ‘हामीले मेसिन पठाएर सडक खुलाउने तयारी गरिसकेका छौँ ।’
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अस्तव्यस्त छ । २०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम समयमा नै पूरा नगरेपछि ठेक्का तोडिएको थियो । अहिले सडक अलपत्र अवस्थामा छ ।



















