कोशीबाट प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनीसम्म विस्तार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १४:३८

विराटनगर । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशबाट प्रवेश गरी विस्तार हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागसम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सोमबारसम्ममा गण्डकी र लुम्बिनीमा पनि विस्तार भएको छ । मनसुन प्रणाली क्रमशः पूर्वबाट पश्चिमतर्फ सर्दै मधेश र बागमती भएर पछिल्लो चरणमा गण्डकी र लुम्बिनीका केही क्षेत्रमा समेत फैलिएको महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार यस वर्षको मनसुन सरदर मितिभन्दा करिब ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको थियो । असार ५ गते मनसुन नेपाल प्रवेश गरेको हो । त्यसपछि पूर्वी नेपालका विभिन्न भागमा सक्रिय हुँदै विस्तार भएको मनसुन अहिले देशका मध्य र पश्चिमी भूभागतर्फ पनि विस्तार भइरहेको छ ।

पछिल्लो बुलेटिनमा उल्लेख गरिएअनुसार कोशी प्रदेशका सबै भू–भागमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशका धेरै स्थानमा यसको प्रभाव देखिएको छ । गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा भने मनसुन आंशिक रूपमा पुगेको छ ।

तर, महाशाखाले मनसुन अझै कमजोर अवस्थामा रहेको जनाएको छ । कमजोर मनसुनका कारण देशभर वर्षा असमान रूपमा भइरहेको छ । कतिपय क्षेत्रमा हल्का देखि मध्यम वर्षा मात्रै भएको छ । पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूका अनुसार आगामी दिनमा मनसुन विस्तार हुँदै देशभर वर्षा हुने क्रम बढ्ने सम्भावना छ । हालको अवस्थाले तत्कालै देशभर भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.