विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ असार ८, सोमबार १७:३७
तस्बिर : एआई

विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका रात्रिकालीन डान्स बार तथा होटल व्यवसायहरू अधिकांश कानुनले तोकेको मापदण्ड र अनुमति प्रक्रियाबाहिर सञ्चालन भइरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाले रात्रिकालीन होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड र कार्यविधि बनाए पनि अधिकांश व्यवसायीले त्यसको पालना नगरी व्यवसाय सञ्चालन गरिरहेका हुन् । रात्रिकालीन होटल व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिअनुसार व्यवसायीले सम्बन्धित निकायबाट व्यवसाय दर्ता प्रमाणपत्र लिनुका साथै पार्किङको उचित व्यवस्था गर्नुपर्ने, कर्मचारी तथा कामदारलाई परिचयपत्र र पोसाक उपलब्ध गराउनुपर्ने, कम्तीमा ३० दिनसम्म रेकर्ड रहने नाइटभिजनयुक्त सीसी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था छ ।

Advertisement

त्यसैगरी, आन्तरिक सुरक्षाका लागि परिचयपत्रसहित सुरक्षा गार्ड राख्नुपर्ने, ध्वनि प्रदूषण नियन्त्रणका लागि साउन्डप्रुफ संरचना बनाउनुपर्ने, आगलागी नियन्त्रणका उपकरण अनिवार्य राख्नुपर्ने र मदिरा सेवन गरी अचेत भएका ग्राहकलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । कलाकारहरूको व्यवस्थित बसोबास तथा यातायातको सुविधा, डबल डोरको व्यवस्था, फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आबद्धता, निर्धारित समयसम्म मात्रै व्यवसाय सञ्चालन, बिक्री गरिने सामग्रीको मूल्यसूची वा मेनु कार्ड अनिवार्य राख्ने तथा १८ वर्षभन्दा कम उमेरका नाबालकलाई काममा लगाउन नपाइने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ ।

तर, विराटनगरमा सञ्चालित अधिकांश डान्स बारले मापदण्ड पूरा नगरेको पाइएको छ । राति १२ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था भए पनि कतिपय डान्स बारहरू राति २ बजेसम्म सञ्चालन भइरहेको स्थानीयको गुनासो छ । तर, डान्स बार र गीत–गजलहरुले राति १२ बजेसम्मको पनि अनुमति जिल्ला प्रशासन कार्यालयबाट लिएका छैनन् । मनपरी हिसाबले चलिरहेका रात्रिकालीन व्यवसायलाई नियमन र कारबाही गर्न सम्बन्धित निकाय हिचकिचाइरहेको छ ।

मापदण्ड र नियमको धज्जी उडाउँदै सञ्चालन भइरहेका डान्स बारबाट ध्वनि प्रदूषण, होहल्ला तथा अश्लील गतिविधिसमेत हुने गरेको गुनासो बढेको छ । केही डान्स बारमा नाबालकहरूको प्रयोग हुने गरेको गुनासो आइरहेको छ । सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन र नियमन नहुँदा मनपरी चलिरहेको छ । नियमको धज्जी उडाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले रात्रिकालीन व्यवसायको अनुगमन गर्ने योजना रहेको बताए । मापदण्ड पालना नगरी र अनुमति नलिई सञ्चालन भइरहेका व्यवसायमाथि कारबाही हुने उनले बताए । अनुगमनपछि प्राप्त निष्कर्षका आधारमा थप निर्णय लिइने कटेलको भनाइ छ । स्रोतका अनुसार विराटनगरका अधिकांश रात्रिकालीन व्यवसाय जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा नगरिकन चलिरहेका छन् ।

रात्रिकालीन होटल व्यवसायी समन्वय समिति विराटनगरका सचिव नारायण तिम्सिनाले अधिकांश व्यवसायीले मापदण्ड पूरा गरेको र धेरैले अनुमति पनि लिएको दाबी गरे । केही व्यवसायीले भने अझै अनुमति नलिएको स्वीकार गर्दै उनले त्यस्ता व्यवसायीलाई कारबाही गर्दा आफूहरूलाई कुनै आपत्ति नरहेको बताए ।

‘हाम्रो व्यवसाय रातिको हो । तर, राति १२ बजेसम्म मात्रै सञ्चालन गर्नु भनिन्छ । राति चल्ने व्यवसायका लागि समय निक्कै अपुग भएको छ,’ तिम्सिनाले भने, ‘यदि कसैले नियमविपरीत र गलत गतिविधि गरेको छ भने त्यस्ता व्यवसायीलाई कारबाही हुनुपर्छ । त्यसमा हामी सहयोग गर्न तयार छौं । बिना लाइसेन्स सञ्चालन भइरहेका केही व्यवसायलाई कारबाही गर्न हामीले पनि सिफारिस गरेका छौं ।’

रात्रिकालीन व्यवसाय (गीत–गजल र डान्स बार) अनुगमन समितिले केही दिनअघि गीत–गजल र डान्स बारहरूको स्थलगत अनुगमन गरेको थियो । महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा रहेको समिति जिल्ला प्रहरी कार्यालय, व्यवसायीका तर्फबाट दुई प्रतिनिधि तथा महानगरको राजस्व शाखाका कर्मचारी गरी पाँच सदस्यीय छ ।

उक्त समितिले अनुगमन गरेर प्रतिवेदन तयार पार्दै महानगर प्रमुख नागेश कोइरालालाई बुझाइसकेका छ । तर, प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । महानगर प्रहरी निरीक्षक पौडेलले प्रतिवेदनमा रात्रिकालीन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सुझावहरू समावेश गरिएको बताए ।

उनका अनुसार केही व्यवसायीबाहेक अधिकांशले महानगरमा व्यवसाय दर्ता गरेको र राजस्व तथा मनोरञ्जन कर बुझाएको पाइएको छ । दर्ता नगरेकाहरूलाई तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको पौडेलको भनाइ छ ।

विराटनगर महानगरपालिकामा हाल ३३ वटा डान्सबार सञ्चालनमा रहेको तथ्यांक छ । कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको अवस्थामा मनोरञ्जन क्षेत्रसँग जोडिएका डान्स बार तथा गीत–गजल व्यवसायहरू नै मापदण्डविपरीत सञ्चालन भइरहनु चिन्ताको विषय बनेको सरोकारवाला बताउँछन् ।

कानुनले तोकेको मापदण्ड पालना नगरी, जिल्ला प्रशासन कार्यालयबाट आवश्यक अनुमति नलिई र तोकिएको समयभन्दा बढी एवं जथाभावी रूपमा सञ्चालन भइरहेका डान्स बारमाथि प्रभावकारी अनुगमन र नियमन हुन नसक्दा विराटनगरमा रात्रिकालीन व्यवसाय ‘भगवान् भरोसा’ चलिरहेको छ । रात्रिकालीन व्यवसायको अनुगमन गरेर बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायमाथि दबाब बढाउनुपर्ने अवस्था आएको सरोकारवालाको भनाइ छ ।

‘जथाभावी हिसाबले नियमको बर्खिलाप गर्दै रात्रिकाली होटल व्यवसाय सञ्चालन भइरहेका छन् । तर, सम्बन्धित निकायले ध्यान पुर्याएको छैन । झुक्किएर हुने अनुगमन पनि देखावटी मात्रै हुन्छ,’ स्रोतले भन्यो । नियमविपरीत चलिरहेका व्यवायीलाई निरीक्षण एवं अनुगमन गर्न जानुअघि नै त्यसको जानकारी हुने गरेको स्रोतको भनाइ छ । ‘अनुगमनमा आउँदैछन् भनेपछि तत्काललाई व्यवसाय बन्द गरेर ‘साइड’ लाग्छन् । अनुगमन टोली फर्कियो भन्ने जानकारी हुनसाथ पुनः ताला खोलेर चलाउन थाल्छन्,’ स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
सरकारी सम्पत्ति हराएको प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाही होस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.