
रंगेली । मोरङको रंगेली नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालले पदबाट राजीनामा दिएपछि अस्पतालको भावी नेतृत्वलाई लिएर स्थानीय स्तरमा व्यापक चासो र चर्चा सुरु भएको छ ।
अब अध्यक्ष को बन्छ ? अस्पताललाई कुन दिशामा अघि बढाइन्छ ? सेवा विस्तार र व्यवस्थापनमा कस्तो दृष्टिकोण अपनाइन्छ ? भन्ने प्रश्न अहिले रंगेलीवासीको साझा चासोको विषय बनेको छ । करिब चार वर्षदेखि अस्पताल व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दै आएका कटुवाल स्वयं लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्षरत छन् ।
आफ्नै उपचार चलिरहेका बेला पनि उनले व्यक्तिगत पीडाभन्दा जनताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै अस्पतालको नेतृत्व निरन्तर सम्हाले । स्वास्थ्य अवस्था र पारिवारिक जिम्मेवारीलाई कारण देखाउँदै उनले एक साताअघि मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तकुमार साहलाई लिखित राजीनामा बुझाएका थिए ।
उनको बहिर्गमनसँगै अस्पतालले एउटा अध्यक्ष मात्र गुमाएको छैन । सेवाभाव, अनुशासन र व्यवहारिक नेतृत्वको एउटा उदाहरण पनि गुमाएको चर्चा हुन थालेको छ ।
कटुवालको नेतृत्वकाललाई सम्झनेहरूका अनुसार उनले अध्यक्षको कुर्सीलाई हैकम चलाउने माध्यमभन्दा सेवा गर्ने जिम्मेवारीका रूपमा लिए । चार वर्षको अवधिमा उनले प्रत्येक शनिबार बिहान ८ बज्नुअघि नै अस्पताल परिसरमा पुगेर सरसफाइ अभियान सञ्चालन गरे । प्रारम्भिक दिनमा स्थानीय युवा तथा समाजसेवीहरूको समेत सहभागिता रहने गरेको भए पनि पछिल्लो समय सहभागिता घट्दै गएको थियो । तर, कटुवाल भने आफ्नो प्रतिबद्धताबाट पछि हटेनन् ।
उनी आफैँ हातमा झाडु लिएर सरसफाइमा जुट्थे । चिकित्सक, कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरूलाई समेत साथमा लिएर अस्पताल सफा राख्ने अभियानलाई निरन्तरता दिएका थिए । अस्पताल सफा राख्ने जिम्मेवारी सरसफाइकर्मीको मात्र नभई सबैको साझा दायित्व हो भन्ने सन्देश उनले व्यवहारमै देखाएको कर्मचारीहरू बताउँछन् ।
अस्पतालका एक कर्मचारी भन्छन्, ‘विगतका धेरै अध्यक्षहरू कार्यालयको कुर्सीमा बसेर निर्देशन दिन्थे । तर, कटुवाल आफैं हातमा झाडु लिएर सरसफाइमा अग्रसर हुनु हुन्थ्यो । उनले कहिल्यै अध्यक्षको अहमता देखाउनु भएन । चिकित्सक, कर्मचारी, कार्यालय सहयोगीदेखि बिरामीसम्म सबैसँग समान व्यवहार गर्नु हुन्थ्यो ।’
रंगेली नगर अस्पतालको विगत हेर्दा विभिन्न समयमा नेतृत्वमा रहेका केही व्यक्तिहरूमाथि आफन्त र नातागोतालाई जागिर दिलाउन दबाब दिएको चर्चा हुने गरेको थियो । तर, कटुवालको चार बर्से कार्यकालमा भने यस्ता कुनै विवाद सार्वजनिक भएनन् ।
अस्पतालका कर्मचारीहरूका अनुसार उनले पदको प्रभाव प्रयोग गरेर आफन्तलाई जागिर दिलाउने वा विशेष सुविधा उपलब्ध गराउने प्रयास कहिल्यै गरेनन् । सार्वजनिक सम्पत्तिलाई जनताको सम्पत्ति मानेर संरक्षण गर्ने उनको शैलीले अस्पतालभित्र विश्वासको वातावरण निर्माण गरेको स्थानीयहरू बताउँछन् ।
गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका बेला पनि कटुवाल अस्पतालको कामबाट टाढा भएनन् । परिवारले समय मागिरहेको थियो । शरीरले आराम खोजिरहेको थियो । तर, उनले सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई कमजोर हुन दिएनन् । कतिपय अवस्थामा आफ्नै उपचारको चिन्ताभन्दा अस्पतालको व्यवस्थापन र सेवा सुधारमा उनको ध्यान केन्द्रित हुने गरेको अस्पतालका कर्मचारीहरु सम्झन्छन् ।
उनको नेतृत्वमा अस्पतालको सरसफाइ, व्यवस्थापन र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ । यही कारण अस्पतालप्रतिको जनविश्वास क्रमशः बढ्दै गएको थियो ।
अब भने सबैभन्दा ठूलो प्रश्न नयाँ नेतृत्वसँग जोडिएको छ । के अब आउने अध्यक्षले पनि शनिबार बिहान अस्पतालको सरसफाइमा आफ्नै हातले योगदान दिनेछन् ? अस्पताललाई सेवाको केन्द्र बनाउनेछन् कि व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम ? अध्यक्षको कुर्सीलाई जिम्मेवारी ठान्नेछन् कि अधिकार प्रदर्शन गर्ने थलो ?
स्थानीयको बुझाइमा कटुवालको जस्तो निस्वार्थ सेवा, समर्पण र व्यवहारिक नेतृत्वलाई प्रतिस्थापन गर्न सजिलो हुने छैन । ‘शनिबार बिहान अस्पताल परिसरमा झाडु समातेर अघि बढ्ने अध्यक्ष अब पदमा नहुन सक्छन्,’ एक जना वडाध्यक्षले भने, ‘तर, उनले बसालेको संस्कार र सेवा भाव भने अस्पतालका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास छ ।’
रंगेली नगर अस्पताल अहिले नयाँ नेतृत्वको प्रतीक्षामा छ । नयाँ अध्यक्षले कटुवालले निर्माण गरेको सेवाको संस्कारलाई थप मजबुत बनाउँछन् कि त्यसलाई कमजोर बनाउँछन् भन्ने जवाफ समयले नै दिने छ । तर, अब जनताले पद होइन, कामको परिणामबाट नेतृत्वको मूल्यांकन गर्नेछन् भन्ने कुरा स्पष्ट छ । त्यही भएर अहिले रंगेली नगर अस्पतालमा सेवाभावको संस्कार जोगिने कि अहंकारको राजनीति फर्किने ? भन्ने चासो बढेको छ ।
नयाँ नेतृत्वसँग जनताका १४ प्रश्न
१, के नयाँ अध्यक्षले पनि प्रत्येक शनिबार अस्पताल सरसफाइमा आफ्नै हातले योगदान दिनेछन् ?
२, आफन्त र नातागोताभन्दा जनताको हितलाई प्राथमिकता दिने प्रतिबद्धता गर्छन् ?
३, अस्पताललाई सेवाको केन्द्र बनाउने कि व्यक्तिगत स्वार्थको थलो ?
४, सेवा, उपकरण र विशेषज्ञ चिकित्सक विस्तारका लागि के–कस्ता ठोस योजना छन् ?
५, औषधि, परीक्षण र विशेषज्ञ सेवाका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता कसरी अन्त्य गरिन्छ ?
६, अस्पतालको आम्दानी र खर्च पूर्ण पारदर्शी बनाउन सार्वजनिक लेखापरीक्षण गरिन्छ कि गरिँदैन ?
७, विगतमा नेतृत्वले हासिल गरेका उपलब्धि जोगाउन सक्ने आधार के हो ?
८, अस्पतालमा राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता गर्न सकिन्छ ?
९, विपन्न र गरिब नागरिकका लागि निःशुल्क तथा सहुलियत उपचारको दायरा बढाउने योजना के छ ?
१०, चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुन नदिन कस्तो रणनीति अपनाइनेछ ?
११, आर्थिक अनियमितता रोक्न कस्ता कडा मापदण्ड लागू गरिनेछन् ?
१२, ५ वर्षपछि रंगेली नगर अस्पताललाई कुन स्तरमा पुर्याउने लक्ष्य छ ?
१३, अस्पतालको गुणस्तर खस्किए त्यसको नैतिक जिम्मेवारी कसले लिने ?
१४, पहिलो एक वर्षभित्र जनताले प्रत्यक्ष देख्न सक्ने उपलब्धि के हुनेछ ?
रंगेली नगर अस्पतालमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु भइसकेको छ । तर, अस्पताललाई कुर्सीको शक्ति प्रदर्शन गर्ने स्थान नभएर जनताको सेवाको केन्द्र बनाउने नेतृत्वको अपेक्षा स्थानीयले गरेका छन् ।

























