वर्षा, चट्याङ र तातो लहरको प्रभाव पर्ने पूर्वानुमान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०६:५९

काठमाडौं । देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहँदा आज (बिहीबार) पनि वर्षा, चट्याङ र तातो लहरको मिश्रित प्रभाव पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भू–भाग तथा गण्डकी प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

Advertisement

हाल देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

वर्षासँगै तातो मौसमको प्रभाव पनि कायम रहने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्न सक्ने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तातो दिन रहने महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

रातको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने प्रक्षेपण छ ।

मौसमविद्ले वर्षा हुने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा तातो लहरको प्रभाव देखिन सक्ने तराईका जिल्लामा अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.