
झापा । झापाको बिर्तामोड नगरपालिकामा टिपरको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएको छ । घटनापछि केहीबेर स्थानीय आक्रोशित बनेका थिए ।
आक्रोशित स्थानीय सडकमा उत्रिएपछि अवस्था केही समय तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा परिचालित प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार बिहीबार साँझ बिर्तामोड–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी बोकेको टिपरको पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईंलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्युको खबर फैलिएसँगै स्थानीय घटनास्थलमा भेला भएका थिए । त्यसपछि बिर्ताबजारस्थित प्रहरी चौकीमा समेत करिब १५० जना स्थानीय पुगेर विरोध प्रदर्शन तथा घेराउ गरेका थिए ।
बढ्दो तनावलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न टिपरको समेत नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



















