
काठमाडौं । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज (शुक्रबार) नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
लागुऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समग्र समाजमा पार्ने गम्भीर नकारात्मक प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसंघको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद तथा प्रयोगमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ ।
लागुऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य, साझा प्रतिबद्धता र प्रभावकारी प्रयासलाई थप सुदृढ बनाउने उद्देश्यका साथ यो दिवस प्रत्येक वर्ष मनाइँदै आएको छ ।



















