
काठमाडौं । विशेष अदालतले राहदानी छपाइ तथा खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थुनछेक बहसपछि सोमबार महानिर्देशक अर्याललाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै विभागका निर्देशक सुनिलकुमार केसीलाई चार लाख, शाखा अधिकृत सोमेश थापालाई तीन लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईलाई तीन लाख तथा ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्ललाई पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
यस्तै, लेखा अधिकृत तुलसीप्रसाद आचार्य र उपसचिव राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।

























