भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार ०६:२७

काठमाडौं । मनसुन थप सक्रिय भएसँगै आज (मंगलबार) र भोलि (बुधबार) देशका अधिकांश भू–भागमा मेघगर्जन, चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसलाई आधार मान्दै प्राधिकरणले कर्णाली प्रदेशबाहेकका अन्य सबै प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान र डुबानको जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Advertisement

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्दै अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानको तयारी गर्न आवश्यक छ । विशेषगरी आकस्मिक बाढी आउन सक्ने नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान हुने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन भनिएको छ ।

डुबानको जोखिम रहेका स्थानका नागरिकलाई आवश्यक परे समयमै सुरक्षित र उच्च स्थानमा सर्न, परिवार तथा छिमेकीलाई जानकारी गराउन र सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न प्राधिकरणले आग्रह गरेको छ । विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

सम्भावित पहिरो र सडक अवरोधलाई तत्काल हटाउन जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । प्राधिकरणले जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समितिसँग समन्वय गर्दै पूर्वतयारी र प्रतिकार्यमा खटिने सबै निकायलाई सतर्क रहन पनि अनुरोध गरेको छ ।

वर्षा, बाढी तथा विपतसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाउँदै प्राधिकरणले आपत्कालीन सहायता आवश्यक परे ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर प्रयोग गर्न आग्रह गरेको छ ।

मनसुन अझै सक्रिय रहने भएकाले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन पनि सबै नागरिकलाई अनुरोध गरिएको छ । समयमै अपनाइने सतर्कताले बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति उल्लेखनीय रूपमा कम गर्न सक्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.