
विराटनगर । समुदायस्तरमै विपद्को प्रभावकारी प्रतिकार्य गर्न सक्ने स्वयंसेवक समूह तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम मोरङका दुई स्थानमा एकैसाथ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेक्वा कंकालिनी, मोरङ र मोरङको रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा सञ्चालन गरिएको ‘समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम’ समापन गरिएको हो । तालिममा मोरङ जिल्लाका विभिन्न स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित ४० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
तालिम अवधिभर उनीहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । साथै, विपद् सचेतनासम्बन्धी विभिन्न गतिविधिसमेत सञ्चालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेक्वा कंकालिनी मोरङमा आयोजित समापन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र रंगेली नगरपालिका–४ मा आयोजित समापन कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछकुमार गच्छदार प्रमुख अतिथि रहेका थिए । समापन कार्यक्रमका अवसरमा प्रशिक्षार्थीहरूले आगलागी नियन्त्रण गर्ने विधि, ग्यास सिलिन्डरबाट हुने चुहावट नियन्त्रण गर्ने उपाय, घाइतेको प्राथमिक उपचार र सुरक्षित उद्धार, साथै घरेलु स्रोत साधनको प्रयोग गरेर बाढीमा उद्धारका लागि आवश्यक सामग्री निर्माण गर्ने तरिकासम्बन्धी व्यावहारिक प्रदर्शन गरेका थिए ।
प्रशिक्षार्थीहरूको प्रदर्शनपछि उनीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीसहित सशस्त्र प्रहरीका अधिकृत, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यस प्रकारको तालिमले समुदायमै दक्ष विपद् स्वयंसेवक तयार गर्न, विपद् आउनुअघि आवश्यक पूर्वतयारी गर्न, विपद्का बेला तत्काल खोज, उद्धार र प्राथमिक उपचारलाई प्रभावकारी बनाउन तथा स्थानीय समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



















