
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । विद्यालय, सडक, विद्युत्, सञ्चार र सरकारी सेवासमेत प्रभावित भएका छन् ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि सिलिचोङ गाउँपालिका–१ तल्लो तेन्छोङ क्षेत्रमा पहिरो खस्दा सात परिवार सुरक्षित स्थानमा सारिएका हुन् । संखुवासभा प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर धनबहादुर राजवंशीका अनुसार कुन्ती राईको पाँच सदस्यीय परिवार, धनपूर्ण राईको सात सदस्यीय परिवार, मंगलबहादुर राईको छ सदस्यीय परिवार, सुकप्रसाद राईको चार सदस्यीय परिवार, मीरा राईको पाँच सदस्यीय परिवार, धनमान राईको तीन सदस्यीय परिवार तथा अरुणसंगम राईको परिवार विस्थापित भएका छन् ।
बस्तीमाथिको जमिन चिरा परेपछि थप जोखिम बढेकाले सिसुवा प्रहरी चौकी, गाउँपालिका र स्थानीयको समन्वयमा सबै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सिलिचोङ गाउँपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढीपहिरोका कारण जनजीवनसमेत अस्तव्यस्त बनेको छ । गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ भने केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताएका छन् ।
उनका अनुसार गाउँपालिकाभित्रका अधिकांश सडक र गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले दुईवटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध भएको छ ।
पहिरोले सिलिचोङ–१ स्थित नेवाटारको कालिका माध्यमिक विद्यालयमा पनि ठूलो क्षति पुर्याएको छ । विद्यालयका १५ वटा कक्षाकोठामा चिरा परेको छ भने शैक्षिक सामग्रीसमेत नष्ट भएका छन् । यस्तै, सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालय पनि पहिरोबाट प्रभावित भएपछि दुवै विद्यालयको पठनपाठन अनिश्चितकालका लागि रोकिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मेवाहाङका अनुसार दुवै विद्यालय पहिरोको उच्च जोखिममा परेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । गाउँपालिकाले कोशी प्रदेश सरकार र संघीय सरकारसँग प्रभावित बस्तीको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । अध्यक्ष मेवाहाङका अनुसार तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायत दर्जनौँ बस्ती अझै पहिरोको उच्च जोखिममा छन् ।
निरन्तर वर्षा भइरहेकाले स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा बसिरहेका छन् । जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध भएकाले राहत सामग्री पुर्याउने र उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।



















