
विराटनगर । विराटनगरको सीमावर्ती रानी नाकाबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउने प्रयास प्रहरीले विफल पारेको छ ।
प्रहरीले भारतबाट पैदल नै नेपाल प्रवेश गर्दै गरेका एक भारतीय नागरिकलाई करिब २९० ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । उक्त लागुऔषध खरिद गर्न आएका जुम्लाका युवक पनि पक्राउ परेका छन् । खरिदकर्ता युवकको साथबाट प्रहरीले ४ लाख ७१ हजार रूपैयाँ नगद बरामद गरेको छ ।
आइतबार बिहान करिब १०ः४० बजेतिर विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले एक जनालाई नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती व्यक्तिमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो ।
जाँचका क्रममा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थानास्थित बनिहारीका ३२ वर्षीय चञ्चल सिकदारलाई प्रहरीले नियन्त्रणमा लियो । उनले बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेका दुईवटा टिफिन बट्टामा लुकाएर ल्याइएको अवस्थामा खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार साथबाट लागुऔषध बरामद भएपछि भारतीय युवकलाई तत्कालै पक्राउ गरिएको हो । सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद भएको जानकारी मिश्रले दिए ।
लागुऔषधसहित पक्राउ परेका सिकदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सिकदारबाट बरामद भएको लागुऔषध खरिद गर्न अर्का युवक आएको जानकारी प्रहरीले प्राप्त गर्यो । त्यसलगत्तै थप निगरानी गर्दै खोजीमा निस्किएको प्रहरीले खरिदकर्ता युवकलाई पनि नियन्त्रणमा लियो ।
पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावल रहेका छन् । लागुऔषध ‘सप्लाई’ गर्ने भारतीय पक्राउ परेको थाहा पाउनसाथ रावल विराटनगरबाट भागेका थिए । पिछा गर्दै गएको प्रहरीले उनलाई सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट पक्राउ गरेको हो ।
रावलको साथबाट ४ लाख ७१ हजार रूपैयाँ र बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । ‘भारतीय नागरिक चञ्चल सिकदारले नेपाल ल्याएर लागुऔषध रावललाई बिक्री गर्ने योजना रहेछ । रावल लागुऔषध खरिदकै लागि विराटनगरसम्म आएका रहेछन् । तर, दुवै जना पक्राउ परेका छन् । लागुऔषध नेपाल भित्र्याउने प्रयास असफल भएको छ,’ प्रहरी स्रोतले भन्यो ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले दुवै जनामाथि विस्तृत अनुसन्धान गरिरहेको छ । लागुऔषधको स्रोत, नेपालभित्रको सम्भावित सञ्जाल, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा सीमापार हुने लागुऔषध तस्करीको ‘नेटवर्क’का बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसारका घटना पछिल्लो समय चुनौतीका रूपमा देखिँदै आएको छ । मोरङ प्रहरीले लागुऔषधविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको छ । लागुऔषधको अवैध ओसारपसार, कारोबार र सेवन रोक्नका लागि प्रहरी सक्रियता बढाइएको डीएसपी मिश्रले बताए ।



















