फाइल फोटो ।विराटनगर । सुनसरीको इनरुवामा मध्यराति काउली (तरकारी) बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । काउलीको बीचमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित ट्रक चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यद्यपि, गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्रै यकिन हुनेछ । तौल लिएर परिमाण यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट सोमबार बिहानका राति १२ः४५ बजेतिर ८३ बोरा गाँजा बरामद भएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए । उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।
ट्रकको पछाडिको भागमा काउली राखिएको र सोही काउलीको बीचमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा गाँजा फेला परेको जानकारी ओलीले दिए । ट्रकलाई नियन्त्रणमा लिएर गाँजा बरामद गर्दै प्रहरीले चालक राई राईसँगै सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सदीप राईलाई पक्राउ गरेको छ ।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बरामद गाँजा, ट्रक, चालक र सहचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
शब्जीको आडमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ । गाँजा कहाँबाट ल्याइएको र कुन ठाउँमा लगिएको हो भन्ने यकिन छैन ।
यद्यपि, धनकुटासमेतका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ कटाउन तरकारी बोकेको ट्रकमा लुकाएर ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

























