स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ०६:३४

सिराहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडक खण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बालिका र सोही बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई घर छाडेर विद्यालयतर्फ फर्किदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसले मंगलबार अपरान्ह ४ः१५ बजेतिर दुर्घटना गराएको हो । बालिकालाई झारेर अगाडि बढ्ने क्रममा बसको पछाडिको चक्काले किचेको थियो ।

दुर्घटनामा परेर पायोनियर एजुकेशन एकेडेमीमा अध्ययनरत ५ वर्षीया समीक्षाकुमारी साह र बसका सहचालक २५ वर्षीय ओमप्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भएकी बालिका हाल मावली लक्ष्मीपुरपतारी–२ पर्सामा बस्दै आएकी थिइन् । सहचालक सिराहाको लहान नगरपालिकाका बासिन्दा हुन् ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.