
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेर सर्वसाधारणलाई राहत दिने निर्णय गरे पनि विराटनगरमा भने त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन सकेका छैनन् ।
उल्टै मूल्य घट्ने जानकारी सार्वजनिक हुनुअघि नै पेट्रोल पम्प सञ्चालकहरूले इन्धन खरिद रोकेर बुधबार अधिकांश पम्पमा ‘नो स्टक’को बोर्ड टाँसेपछि बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । यसले उपभोक्ता सास्तीमा परेका छन् । बजार अनुगमन र नियमन गर्ने निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो । मूल्य घटेसँगै सर्वसाधारणले राहतको अपेक्षा गरेका थिए ।
तर, विराटनगरका धेरै पेट्रोल पम्पमा बुधबार बिहानैदेखि इन्धन अभाव देखियो । पम्पहरूमा ‘नो स्टक’को सूचना राखेर बिक्री नै बन्द गरिएपछि पेट्रोल र डिजेल लिन पुगेका सवारी चालकहरू निराश भएर फर्किन बाध्य भए ।
व्यवसायीहरूले मूल्य घट्नुअघि महँगो मूल्यमा खरिद गरिएको मौज्दात इन्धन सस्तोमा बिक्री गर्दा घाटा हुने तर्क गर्दै निगमबाट नयाँ इन्धन नउठाएको खुलेको छ । मूल्य समायोजन हुने चर्चा सोमबारदेखि नै बजारमा फैलिएको थियो । यही सूचनाका आधारमा अधिकांश पम्प सञ्चालकहरूले मंगलबार नै निगमबाट इन्धन खरिद नगरेका कारण बुधबार बजारमा अभाव देखिएको हो ।
विराटनगरकी स्कुटी चालक रोजी रायले सरकारले मूल्य घटाएको खबर सुन्दा खुसी लागेको भए पनि पम्प बन्द हुँदा त्यसको कुनै लाभ लिन नपाएको बताइन् । उनका अनुसार इन्धन भर्न बिहानै पम्प पुगे पनि ‘तेल छैन’ भन्ने सूचना पाएपछि रित्तै फर्किनु पर्यो । उनले उपभोक्तालाई राहत दिने सरकारी निर्णयलाई व्यवसायीले अवज्ञा गर्दै कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाइन् ।
यसले आयल नियमनको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । बजारमा कृत्रिम अभाव देखिँदा पनि स्थानीय प्रशासन र सम्बन्धित निकायले समयमै हस्तक्षेप गर्न नसकेको भन्दै उपभोक्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मूल्य घट्ने सूचना सार्वजनिक हुनुअघि नै व्यवसायीहरूले समन्वय गरेर इन्धन खरिद रोकेको विषयमा समेत छानबिन हुनुपर्ने माग उठ्न थालेको छ ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीका प्रमुख पुष्कर कार्कीले भने बजारमा देखिएको समस्या अस्थायी रहेको बताएका छन् । उनका अनुसार मूल्य घट्ने चर्चा चलेपछि केही पम्प सञ्चालकहरूले मंगलबार निगमबाट पेट्रोल र डिजेल खरिद नगरेका कारण बुधबार बिहान केही समय आपूर्ति प्रभावित भएको हो । उनले निगमले विभिन्न क्षेत्रमा अनुगमन सुरु गरिसकेको र दिउँसोपछि सबै पम्पमा इन्धन आपूर्ति सहज बनाइने बताए ।
तर, साँझसम्म विराटनगरका पम्पमा पेट्रोलियम पदार्थ पाइएको छैन । कार्कीका अनुसार बसपार्क क्षेत्रलगायतका विभिन्न स्थानमा अनुगमन टोली परिचालन गरिएको छ । इन्धन बिक्री रोकेका पम्पहरूको अवस्थाका बारेमा जानकारी संकलन भइरहेको र आवश्यक परे कारबाही प्रक्रिया पनि अघि बढाइने उनले बताए । यद्यपि, बजारमा देखिएको वास्तविक अवस्था भने निगमको दाबीअनुसार सहज भइसकेको देखिएको छैन ।
घटनाले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ । मूल्य समायोजनको औपचारिक निर्णय सार्वजनिक हुनुअघि नै व्यवसायीहरू कसरी सचेत भए र उनीहरूले एकैसाथ इन्धन खरिद रोक्ने निर्णय कसरी गरे भन्ने विषयमा निगम र प्रशासन दुवै मौन देखिएका छन् । यदि मूल्य परिवर्तनसम्बन्धी सूचना पहिले नै चुहिएको हो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ ।
नेपाल आयल निगमले नयाँ मूल्यसूचीअनुसार विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा कायम गरेको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ निर्धारण गरिएको छ ।
सरकारले मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरे पनि त्यसको कार्यान्वयनमै समस्या देखिँदा राहतको निर्णय व्यवहारमा प्रभावहीन बनेको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि प्रभावकारी कारबाही हुन्छ कि हुँदैन, नियामक निकायले बजारलाई तत्काल सामान्य बनाउन कति सक्रियता देखाउँछन् र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के कदम चालिन्छ भन्ने विषय अहिले सबैको चासोको विषय बनेको छ ।

























