छोरी शिक्षामा रंगेलीको जोड

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ असार १७, बुधबार १८:५१

रंगेली । मोरङको रंगेली नगरपालिकाले ‘रंगेलीको इच्छा, छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ बालिका शिक्षाको प्रवर्धन, नेतृत्व विकास, लैंगिक समानता र किशोरी स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिवसीय ‘छात्रासँग उपमेयर’ कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा किशोरीहरूलाई शिक्षा, आत्मविश्वास, नेतृत्व क्षमता र आफ्ना अधिकारका बारेमा जानकारी गराउनुका साथै सुरक्षित तथा स्वस्थ किशोरावस्थाका विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा सहभागी सबै छात्राहरूलाई अध्ययनप्रति थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले रंगेली नगरपालिकाले शैक्षिक सामग्रीस्वरूप स्कुल ब्याग, ज्यामिति बक्स र डायरी वितरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले शिक्षित छोरी नै समुन्नत परिवार, सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको प्रमुख आधार भएको बताए । उनले छात्राहरूलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्दै उमेरसँगै बढ्ने जिम्मेवारीलाई बुझेर जीवनमा सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरे ।

साहले स्थानीय सरकारले शिक्षा, महिला सशक्तीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माणलाई सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आजको डिजिटल युगमा प्रविधिको ज्ञान अपरिहार्य भए पनि सामाजिक सञ्जालको सही, सुरक्षित र जिम्मेवार प्रयोग गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जालको दुरुपयोगबाट हुन सक्ने जोखिमप्रति सचेत रहन उनले छात्राहरूलाई सुझाव दिए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष महिनावारी स्वास्थ्यसम्बन्धी सचेतना थियो । किशोरावस्थामा हुने प्राकृतिक शारीरिक परिवर्तन, महिनावारीका समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, स्यानिटरी प्याडको सही प्रयोग, व्यक्तिगत सरसफाइ तथा पौष्टिक आहारको महत्वका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

सहजीकरणका क्रममा महिनावारी कुनै रोग वा लाज मान्नुपर्ने विषय नभई प्रत्येक किशोरीको जीवनमा हुने प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई सकारात्मक रूपमा बुझ्नुपर्ने सन्देश दिइएको थियो । महिनावारीका बेला शरीरको विशेष हेरचाह, सरसफाइ र सन्तुलित खानपानमा ध्यान दिनुपर्ने विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो ।

त्यसैगरी कार्यक्रममा बालअधिकार, लैंगिक समानता, नेतृत्व विकास, आत्मरक्षा, आत्मविश्वास अभिवृद्धि तथा सुरक्षित किशोरावस्थाका विविध विषयमा पनि अभिमुखीकरण गरिएको थियो । छात्राहरूलाई आफ्ना समस्या खुलेर राख्ने वातावरण सिर्जना गर्दै उनीहरूको जिज्ञासाको समेत समाधान गरिएको थियो ।

विद्यालयकी शिक्षिका जमुना घिमिरेले कक्षा ८ मा अध्ययनरत किशोरीहरूका लागि यस्तो कार्यक्रम अत्यन्तै समयसान्दर्भिक र उपयोगी भएको बताइन् । विद्यालयमा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि महिनावारी स्वास्थ्य, सामाजिक सञ्जालको सही प्रयोग तथा किशोरावस्थामा आउने परिवर्तनका बारेमा व्यवहारिक रूपमा जानकारी दिने अवसर कम हुने गरेको उल्लेख गर्दै उनले यस्तो कार्यक्रमले छात्राहरूको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यस्ता कार्यक्रम आयोजना गरेकोमा रंगेली नगरपालिकाप्रति धन्यवादसमेत व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी छात्राहरूले पनि नगरपालिकाका जनप्रतिनिधि तथा अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले विद्यालय र घरको दैनिकीबाहेक आफ्ना अधिकार, स्वास्थ्य तथा नेतृत्वका विषयमा धेरै जानकारी नभएको अवस्थामा यस्तो कार्यक्रमले नयाँ ज्ञान र आत्मविश्वास प्रदान गरेको बताए ।

उनीहरूका अनुसार महिनावारीलाई लाज वा डरको विषय नठानी प्राकृतिक प्रक्रिया भनेर बुझ्नुपर्ने, त्यस समयमा सरसफाइ र पोषणमा विशेष ध्यान दिनुपर्ने तथा आफ्ना समस्या खुलेर राख्न सकिने वातावरणका बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ । रंगेली नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कार्यवाहक नगर प्रमुख (उपमेयर) भुमाकुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा रंगेली नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरपालिकाले बालिका शिक्षाको पहुँच विस्तार, किशोरीहरूको क्षमता विकास, सुरक्षित शैक्षिक वातावरण निर्माण तथा लैंगिक समानताको प्रवर्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.