रानी नाकाको अवस्था सामान्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १६:३२

विराटनगर । स्थानीयको आन्दोलनका कारण तनावग्रस्त बनेको विराटनगरको रानी नाकाको अवस्था सामान्य बनेको छ ।

भारतको जोगवनी प्रवेश गर्ने मुख्य नाका केहीबेर तनावग्रस्त बनेको थियो । भारतको जोगवनी प्रवेश गर्ने मुख्य नाकाको १ नम्बर ढाट बन्द गरेर स्थानीय आन्दोलनमा उत्रिएपछि मानिस आवतजावत र सवारी आवागमन केहीबेर ठप्प भयो ।

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटलाई फलामको सिक्री लगाएर मानिससमेत आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण नेपाल–भारत आवतजावत बन्द हुन पुगेको थियो ।

सीमा क्षेत्रको ३ नम्बर ढाट कोरोना महामारीदेखि नै बन्द गरिएको थियो । उक्त ढाट हुँदै सवारी आवागमन पूर्ण रुपमा बन्द छ । मानिसले भने आवतजावत गर्न पाउँथे । तर, बिहीबारबाट मानिससमेत हिँड्न नमिल्ने गरी फलामको सिक्री लगाएर ढाट बन्द गरिएको भन्दै त्यसको विरोधमा ढाटनजिकको चाइना मार्केटका व्यापारी, स्थानीय र सीटी सफारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएहरुकाले ३ नम्बर ढाटको आवतजावत खुला गर्नुपर्ने माग गर्दै १ नम्बर ढाट बन्द गराएका थिए । आक्रोशित आन्दोलनकारीले तोडफोडको प्रयास गरेपछि प्रहरीले लाट्ठी चार्ज गर्दै सामान्य बल प्रयोग गरेको थियो । त्यस क्रममा अवस्था तनावग्रस्त बन्न पुग्यो । केही व्यक्तिलाई सामान्य चोट पनि लागेको छ ।

स्थानीय प्रशासनको पहलमा ३ नम्बर ढाटमा लगाइएको फलामको सिक्री खोलिएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । त्यसपछि आन्दोलनकारीले १ नम्बर ढाट पनि खुला गरिदिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले समस्या समाधान भएर अवस्था सामान्य बनिसकेको जानकारी दिए ।

विराटनगरको रानी नाका तनावग्रस्त

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.