यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १६:४१

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार सिंहदरबारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

प्रहरी संगठनको उच्च तहमा सरुवा गर्ने निर्णयसँगै विभिन्न निकायमा रिक्त रहेका पदमा नियुक्ति, नयाँ नीति तथा नियमावली स्वीकृत गर्ने र केही विधेयक संघीय संसदमा पेस गर्न अनुमति दिने निर्णय पनि भएको पोखरेलले बताए । बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि भएको छ । मन्त्रिपरिषद्ले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै, शिक्षा ऐनसँग सम्बन्धित शिक्षा दशौं संशोधन नियमावली, २०८३ पनि स्वीकृत गरिएको सरकारले जनाएको छ ।

बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसँग सम्बन्धित ‘युनाइटेड नेसन्स कन्भेन्सन अन द ल अफ द सी’ अन्तर्गतको अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेस गर्न पनि सरकार सहमत भएको छ ।

यसैबीच मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई समेत स्वीकृति दिएको छ । पोखरेलका अनुसार बैठकले प्रशासनिक, कानुनी, नीतिगत तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णय गर्दै प्रहरी संगठन, सार्वजनिक संस्थान तथा सरकारी निकायहरूको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आवश्यक निर्णयहरू गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.