प्रहरीका आठ एआईजी हेरफेर, को कहाँ ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १७:४०

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएको हो । सरुवा सूचीअनुसार कार्य विभागमा कार्यरत एआईजी उमा चतुर्वेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मेवारी दिइएको छ ।

सीआईबीमा रहेका एआईजी डा. मनोज केसीलाई भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व एआईजी सुशील सिंह राठौरले सम्हाल्ने भएका छन् । त्यहाँ कार्यरत एआईजी ईश्वर कार्कीलाई मानव स्रोत विकास विभागमा पठाइएको छ ।

मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ भने प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह कार्य विभागमा गएका छन् । यस्तै, प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन् ।

प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ । सरकारले प्रहरी संगठनको व्यवस्थापन र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका अधिकृतहरूको जिम्मेवारी फेरबदल गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.