
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्ने उद्देश्यसहित सिमकार्ड तथा अन्य आवश्यक सामग्री घरमै पुर्याउने व्यवस्था मिलाएको छ । यसका लागि कम्पनीले हुलाक सेवा विभागसँग औपचारिक सहकार्य गरेको छ ।
बिहीबार भएको सम्झौताअनुसार आगामी साउन १ गतेदेखि नेपाल टेलिकमका सिमकार्ड, विभिन्न दूरसञ्चार सामग्री, सेवा सञ्चालनमा आवश्यक स्पेयर पार्ट्स, आधिकारिक कागजात तथा चिठीपत्र हुलाक सेवामार्फत देशभर ढुवानी गरिनेछ । यस व्यवस्थापछि सेवाग्राहीले आवश्यक सेवा तथा सामग्री आफ्नै ठेगानामा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बोल्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित हुनुपर्ने आवश्यकता क्रमशः घटाउँदै सहज र प्रविधिमैत्री सेवा विस्तार गर्ने नीति अन्तर्गत यो पहल गरिएको बताइन् । उनले हुलाक सेवा विभागसँगको सहकार्यले देशका दुर्गम क्षेत्रसम्म पनि सेवा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यअनुसार विभागले विभिन्न निकायसँग सहकार्यलाई तीव्र बनाइरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको साझेदारी त्यसैको महत्वपूर्ण हिस्सा भएको बताइन् । उनका अनुसार आगामी दिनमा सेवाग्राहीलाई अझ छिटो, भरपर्दो र प्रभावकारी सेवा उपलब्ध गराउन दुवै संस्थाबीचको सहकार्य थप विस्तार गरिनेछ ।
नेपाल टेलिकम र हुलाक सेवा विभाग दुवै सरकारी स्वामित्वका प्रमुख संस्था हुन् । देशभर फैलिएको हुलाक सेवाको सञ्जाल उपयोग गरेर टेलिकमका सेवा तथा सामग्री सुरक्षित र व्यवस्थित रूपमा सेवाग्राहीसम्म पुर्याउने लक्ष्यसहित यो व्यवस्था लागू गर्न लागिएको हो । कम्पनीले यसबाट सेवा वितरण प्रणाली थप प्रभावकारी बन्नुका साथै सेवाग्राहीको समय र खर्चसमेत बचत हुने जनाएको छ ।



















