
झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
प्रहरीका अनुसार बिहान १०ः४५ बजे चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएन । स्थानीय, प्रहरी तथा मेचीनगर नगरपालिकाका दुईवटा दमकलको सहयोगमा बिहान ११ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाउँदै प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको छ ।



















