
एजेन्सी । इरानसँगको युद्ध अन्त्य गर्ने, युद्धविरामलाई स्थायी बनाउने र विश्व ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने अमेरिकी प्रयासका बीच अमेरिका र इजरायलबीच गम्भीर रणनीतिक मतभिन्नता देखिएको खुलासा भएको छ ।
अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्सले प्रकाशित गरेका रिपोर्टहरूका अनुसार इजरायलले इरानका प्रमुख राजनीतिक वार्ताकारहरूलाई निशाना बनाउने तयारी गरेपछि अमेरिकाले त्यसलाई रोक्न गोप्य रूपमा इरानलाई चेतावनी दिएको थियो । रिपोर्टअनुसार अमेरिकी प्रशासनलाई इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसदका सभामुख मोहम्मद बगेर गालिबाफको हत्या गर्ने सम्भावित योजना बनाएको आशंका भएको थियो ।
यी दुवै नेता अमेरिका–इरानबीच जारी युद्धविराम तथा शान्ति वार्तामा तेहरानका प्रमुख प्रतिनिधि मानिएका थिए । अमेरिकी अधिकारीहरूको निष्कर्षमा उनीहरूको हत्या भए वार्ता तत्काल समाप्त हुने मात्र नभएर मध्यपूर्व फेरि व्यापक युद्धतर्फ धकेलिन सक्ने जोखिम थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार संयुक्त सैन्य कारबाहीपछि इरानका धेरै प्रभावशाली सैन्य तथा राजनीतिक नेतृत्व समाप्त भइसकेको अवस्थामा बाँकी रहेका अराघची र गालिबाफलाई तुलनात्मक रूपमा वार्ताका लागि तयार र व्यावहारिक नेताका रूपमा हेरिएको थियो । त्यसैले उनीहरूलाई जोगाउनु शान्ति प्रक्रियाका लागि अनिवार्य बनेको अमेरिकी विश्लेषण थियो ।
एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले उनीहरूको हत्या भएको भए इरानभित्र वार्ता गर्न सक्ने नेतृत्व नै समाप्त हुने अवस्था आउने उल्लेख गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सार्वजनिक रूपमा इजरायलको आक्रामक रणनीतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पत्रकारहरूसँगको कुराकानीमा उनले इजरायलले पर्याप्त सैन्य कारबाही गरिसकेको भन्दै अब थप राजनीतिक नेतृत्वको हत्या आफूले नचाहेको बताएका थिए ।
न्युयोर्क टाइम्सले सार्वजनिक गरेको अर्को विवरण अझ संवेदनशील मानिएको छ । रिपोर्टअनुसार अप्रिल १२ मा इरानी सभामुख गालिबाफ पाकिस्तानको इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितका प्रतिनिधिसँग गोप्य शान्ति वार्ता सकेर तेहरान फर्किरहेका बेला इजरायली आक्रमणको जोखिम बढेको सूचना अमेरिकी गुप्तचर निकायले प्राप्त गरेको थियो ।
त्यसअघि नै सम्भावित हमलाको जोखिम मूल्यांकन गर्दै इरानले आफ्ना प्रतिनिधिमण्डलको सुरक्षाका लागि पाकिस्तानी लडाकु विमानको हवाई सुरक्षा मागेको थियो । तर, अमेरिकी गुप्तचर निकायले इराकतर्फबाट दुई इजरायली लडाकु विमान इरानी वायुक्षेत्रतर्फ अघि बढेको र गालिबाफ चढेको विमान नै सम्भावित निशाना रहेको संकेत पाएपछि तत्काल पाकिस्तान, कतारलगायत मध्यस्थकर्ता राष्ट्रमार्फत तेहरानलाई गोप्य सूचना पठाएको बताइएको छ ।
सूचना प्राप्त भएपछि गालिबाफ चढेको विमानलाई सिधै तेहरान लैजानुको सट्टा उत्तर–पूर्वी इरानको मशहादमा आकस्मिक अवतरण गराइएको थियो । त्यसपछि उनी र उनको टोलीले झन्डै आठ घण्टाको सडक यात्रा गरेर मात्रै राजधानी तेहरान पुगेका थिए ।
प्रतिवेदनहरूले अमेरिका–इजरायल सम्बन्धमा देखिएको तनावको मुख्य कारण युद्धको अन्तिम उद्देश्यमा आएको परिवर्तन रहेको उल्लेख गरेका छन् । युद्धको प्रारम्भिक चरणमा दुवै देश इरानमा सत्ता परिवर्तन गराउने रणनीतिमा सहमत भए पनि पछि अमेरिकाले आफ्नो प्राथमिकता बदलेको बताइएको छ ।
रिपोर्टअनुसार मार्च महिनामा इजरायलले इरानका प्रभावशाली राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीको हत्या गरेपछि अमेरिकी रणनीतिमा ठूलो परिवर्तन आएको थियो । एक पश्चिमी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले वार्ता गर्न सक्ने राजनीतिक नेतृत्व खोजिरहेका बेला इजरायलले त्यही नेतृत्वलाई समाप्त पार्न थालेपछि वासिङ्टन असन्तुष्ट बनेको जनाएको छ ।
त्यसपछि अमेरिकाले इरानको सम्पूर्ण नेतृत्व समाप्त पारेर स्थायित्व ल्याउन नसकिने निष्कर्ष निकाल्दै युद्ध विस्तार गर्नुको सट्टा युद्ध अन्त्य, क्षेत्रीय स्थिरता र हर्मुज जलडमरू पुनः सञ्चालनमा केन्द्रित नीति अपनाएको छ । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने इरानमाथि थप कडा सैन्य दबाब कायम राख्ने पक्षमा रहेको रिपोर्टमा उल्लेख छ ।
अमेरिकाभित्र रहेका इजरायल समर्थक प्रभावशाली समूहहरूको दबाबका बाबजुद राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता जारी राख्ने निर्णय लिएको बताइएको छ । यही प्रक्रियाअन्तर्गत अप्रिलमा प्रारम्भिक युद्धविराम सम्भव भएको र त्यसपछि जुन महिनामा १४ बुँदे प्रारम्भिक सहमतिको मस्यौदा तयार भएको जनाइएको छ ।
उक्त प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रममाथि थप प्रतिबन्ध स्वीकार गरेबापत आर्थिक प्रतिबन्धहरूमा राहत पाउने व्यवस्था समेटिएको छ । तर, नेतन्याहूले यस्तो सम्भावित सहमतिलाई इजरायलको दीर्घकालीन सुरक्षाका लागि जोखिमपूर्ण भन्दै विरोध गर्दै आएका छन् ।
ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति ट्रम्प शान्ति प्रक्रिया निष्कर्षमा पुगोस भन्ने चाहना राखेको बताएका छन् ।, तर, आफ्नै प्रमुख सहयोगी राष्ट्रको सम्भावित सैन्य योजनालाई विफल बनाउन अमेरिकाले इरानलाई गोप्य गुप्तचर सूचना दिएको भन्ने दाबी सार्वजनिक भएपछि अमेरिका–इजरायल सम्बन्धमा देखिएको अविश्वासले आगामी दिनमा मध्यपूर्वको कूटनीतिक समीकरण कता मोडिने भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ ।

























