प्राविधिक अवरोधले बीचैमा बैठक स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १४:४१

काठमाडौं । राष्ट्रियसभाको बैठक प्राविधिक समस्या देखिएपछि बीचमै स्थगित भएको छ । बैठक प्रारम्भ भइसकेपछि केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि संसद् सचिवालयले बैठक अघि बढाउन नसकिने निष्कर्ष निकाल्दै स्थगित गरेको हो ।

बैठक करिब १७ मिनेटसम्म सञ्चालन भएको थियो । तर, सभाकक्षमा भएका गतिविधि प्रत्यक्ष प्रसारण भइरहे पनि आवाज नआउने समस्या देखिएको थियो । सचिवालयका अनुसार सोही प्राविधिक गडबडीका कारण बैठकको आधिकारिक अभिलेख (रेकर्ड) समेत प्रभावित हुने अवस्था सिर्जना भएपछि बैठक तत्कालका लागि रोकिएको हो ।

संसद् सचिवालयले प्राविधिक समस्या समाधान हुनेबित्तिकै बैठक पुनः सञ्चालन गरिने जनाएको छ । शुक्रबार बैठकका लागि राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेका विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाले पारित गरेका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभामा पठाइसकेको छ ।

यससँगै राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची पनि रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि पनि छलफल गर्ने कार्यसूची रहेको छ । प्राविधिक अवरोधका कारण बैठक रोकिएपछि ती सबै कार्यसूची समस्या समाधानपछि पुनः सञ्चालन हुने बैठकमार्फत अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.