
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनलाई असफल, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकाल्दै सरकारमाथि बहुआयामिक आरोप लगाएको छ ।
महासचिव शंकर पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारले आफ्नो १०० दिने प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको, आर्थिक संकट समाधान, सुशासन कायम गर्ने तथा जनअपेक्षा पूरा गर्ने विषयमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको दाबी गरिएको छ । सरकार सस्तो लोकप्रियता र विवादास्पद निर्णयतर्फ केन्द्रित भएको एमालेको आरोप छ ।
एमालेले सरकारले संघीयताको मर्मविपरीत प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्ने प्रयास गरेको, प्रदेश र स्थानीय तहको अधिकार कमजोर पार्ने गरी कार्यकारी आदेशमार्फत शासन सञ्चालन गर्न खोजेको दाबी गरेको छ । संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा पनि सरकारले चासो नदिएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ ।
संविधान संशोधनको प्रक्रिया पारदर्शी नभएको भन्दै एमालेले राजनीतिक दलहरूसँग पर्याप्त परामर्श नगरी संशोधनको एजेन्डा अघि बढाइएको जनाएको छ । सरकारले संविधान संशोधनलाई अदृश्य स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोजेको आरोप पनि एमालेले लगाएको छ ।
सुशासनका नाममा सरकारले प्रतिशोधपूर्ण र छनोटपूर्ण व्यवहार गरेको दाबी गर्दै एमालेले विपक्षी नेतामाथि प्रमाणबिनै कारबाही गरिएको, सामाजिक सञ्जालमार्फत भ्रम फैलाइएको तथा कानुनी संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ । अख्तियार हुँदाहुँदै छुट्टै सम्पत्ति छानबिन आयोग गठन गर्नु र केही पदाधिकारीलाई अनुसन्धानको दायराबाहिर राख्नुले सरकारको सुशासनको दाबी कमजोर बनेको एमालेको भनाइ छ ।
सहकारी पीडितका विषयमा पनि सरकारले वाचा पूरा गर्न नसकेको एमालेले जनाएको छ । साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाइए पनि अघिल्लो सरकारको तुलनामा रकम फिर्ता गर्ने प्रक्रिया निकै सुस्त रहेको दाबी गरिएको छ ।
यस्तै, सरकारले संसद् र प्रतिपक्षप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक मान्यता कमजोर बनाएको, लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप गर्न खोजेको तथा अधिनायकवादी प्रवृत्ति देखाएको आरोप पनि एमालेले लगाएको छ । एमालेले सरकारको सय दिनको कार्यकालले मुलुकको आर्थिक अवस्था सुधार, सुशासन स्थापना र राजनीतिक स्थायित्वको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेको छ ।
यस्तो छ एमालेको विज्ञप्तिको पूर्णपाठ

























