
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको पहिलो सय दिन नागरिकमुखी सेवा प्रवाह र सुशासनको आधार निर्माण गर्न सफल भएको दाबी गरेका छन् । उनले सय दिनमै सुशासनको जग बसेको जिकिर पनि गरे ।
सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सुरुदेखि नै सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको र नागरिकलाई सहज, छिटो तथा डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार भौतिक पूर्वाधारतर्फका योजनाहरू दीर्घकालीन भएकाले त्यसको नतिजा तत्काल देखिन नसके पनि तीन बर्से कार्ययोजनाअनुसार काम अघि बढिरहेको छ ।
लामिछानेले सरकारको सुरुवात सकारात्मक रहेको उल्लेख गर्दै नागरिकका दैनिक सरोकारका विषयलाई केन्द्रमा राखेर काम गरिएको बताए । सय दिनको अवधिमा देखिएका कमजोरीप्रति पनि सरकार सचेत रहेको उनको भनाइ थियो । सञ्चारमाध्यम, नागरिक समाज र विज्ञबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा कार्यसम्पादनलाई अझ परिपक्व र प्रभावकारी बनाइने उनले बताए ।
उनले असल नियतका साथ काम गर्दा प्रक्रियागत केही कमजोरी हुन सक्ने स्वीकार गर्दै त्यस्ता त्रुटि सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए । संविधानका केही विषयमा बहस आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले रास्वपाले प्रदेश खारेजीको माग नगरेको स्पष्ट पारे । प्रदेश संरचनालाई प्रभावकारी, मितव्ययी र जनउत्तरदायी बनाउने विषयमा मात्र बहस आवश्यक रहेको र त्यसका लागि व्यापक राजनीतिक सहमति आवश्यक पर्ने उनको धारणा थियो ।
काठमाडौं उपत्यकाका खोला किनारमा बसोबास गर्ने वास्तविक सुकुम्बासीलाई व्यवस्थित रूपमा आवास वा जग्गाको व्यवस्था गरिने विश्वास पनि उनले व्यक्त गरे । साथै, रास्वपाका सांसदलाई प्रविधिमैत्री बनाउन साइबर सुरक्षा, डिजिटल सुरक्षा तथा डिजिटल प्रणालीसम्बन्धी थप अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्ममार्फत पार्टीको कार्यप्रणालीलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको बताए ।

























